
धादिङ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङको सांकोष तिप्लिङ सडक प्रदेश सरकारले नै बनाउने बताएका छन् । निर्माण सुरु गरेको वर्षाै वित्दा समेत संघिय सरकारले पुरा गर्न नसकेको सडकको जिम्मा अब प्रदेश सरकारले लिने उनले बताए ।
बिहिबार बिहान जिल्ला खेलकुद विकास समिति धादिङको नवनिर्मित भवन उद्धघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने–‘संघिय सरकारले जति बनायो, अब बनाउदैन बागमती प्रदेश सरकारले नै बनाउने हो । यसैपालीबाट वहुवर्षे आयोजना स्वीकृत गरेर प्रदेश सरकारले सांकोष तिप्लिङ सडक बनाउँछ ।’
सांकोष तिप्लिङ जोड्ने दामन पाख्रिन सडकले चिनिएको यो सडक उत्तरी धादिङलाई जोड्ने मूख्य मार्ग हो । ‘पूर्वाधार कार्यालयलाई भनेको छु । कात्तिकसम्म सबै वहु वर्षे आयोजनाहरु स्वीकृत गरेर टण्डरमा लगिसक्नुपर्छ । हामीले निर्णय नै गरेका छौं। चैत बैशाखसम्म पुर्याउने प्रवृत्ति रोक्नु पर्छ । मन्त्रालयले पनि सबै कार्यालयलाई पत्राचार गरि सकेको छ । अब वहु वर्षे आयोजनाहरु समयमै शुरु हुन्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने ।
प्रदेश सरकार प्रादेशिक सडक गुरुयोजना बनाउदै गरेको उनले बताए । बागमती सरकारले ३५ वटा सडक बनाउने तयारीमा छ । सडक सञ्जाल सहज नभएकै कारण उत्तरी धादिङमा पालिका र वडा तहका वजेट सदुपयोग हुन सकेको छैन । जिल्ला सदरमुकाम धादिङवेशीदेखि चिनको सिमाना तिप्लिङसम्म जोड्ने सडक छिटो सुधार गर्न आवश्यक रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ ।