Fri. Jul 19th, 2024

गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती

धादिङ- धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई उपचारका लागि सास्ती हुने गरेको छ । दुर्गम गाउँसम्म एम्बुलेन्स पुग्ने सडक छैन । सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो ।


“घरमै सकुशल आमा र बच्चाको ज्यान जोगाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो”, धुनिबेँसी नगरपालिका–७ गुर्दुमका वीरबहादुर तामाङले भने, “गाउँमा सुत्केरी गराउने अनुभवी व्यक्ति भेटिदैनन् । बर्थिङ सेन्टरका बारेमा गाउँमा कसैलाई थाहा छैन ।” वीरबहादुरकी श्रीमती सविना तामाङलाई स्वास्थ्यकर्मीले यही भदौ १९ गते सुत्केरी हुने दिन तोकेका छन् ।

सुत्केरीलाई पोषिलो खानेकुराको जोहो गरिसकेको भन्दै वीरबहादुरले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुर्‍याउने चिन्ताले पिरोलेको बताए । “सुत्केरीका लागि आवश्यक सबै पोषिलो खानेकुरा स्वास्थ्यकर्मीले भनेअनुसार नै तयार गरेर राखेको छु”, उनी भन्छन् – “थोरै पैसाको जोहो पनि गरेको छु । तर व्यथा लागेपछि बेलैमा अस्पताल पुर्‍याउन सक्निछ कि सकिदैन भन्ने चिन्ताले पिरोलेको छ ।”

गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्ने गरेको बताउँदै वीरबहादुरले यो यहाँका स्थानीयको बाध्यता भएको उल्लेख गरे। उनका अनुसार कतिपयले स्वास्थ्य चौकी वा अस्पताल जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । “जिल्लाको धुनिबेँसी नगरपालिका वडा नं ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ”, उनले भने, “दोभान भन्ने ठाउँसम्म एम्बुलेन्स पुग्छ । त्यहाँसम्म पुग्न दुर्गम बस्तीका स्थानीयलाई चार घण्टासम्म पैदल हिँड्नुपर्छ ।”

बिरामी अस्पताल लैजाने खबर पाएपछि गाउँका सबै आइपुग्ने भन्दै उकालोओरालो बाटोमा स्टेचरमा बिरामी गर्भवती बोकेर स्वास्थ्य संस्थामा पु¥याउनु निकै चुनौतीपूर्ण काम भएको वीरबहादुरको अनुभव छ । “दिउँसोमा पनि दायाँबायाँको बुटा समाउँदै हिँड्नुपर्छ । ओरालो बाटोमा राति बिरामी बोक्नयुद्ध जिते बराबर हुन्छ”, उनले भने, “काहाली लाग्दो ओरालो बाटोमा बिरामी स्टेचरमा अडिएर बस्नै सक्दैन । स्टेचरबाट बिरामी नै लड्ला भन्ने डर उत्तिकै हुन्छ ।”

बर्खाको समयमा झन बाटो हिलो र लेदो हुने भएकाले यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा जसोतसो गाउँसम्म गाडी पुगे पनि बर्खामा बाटोका कारण पैदल यात्रा नै सकसपूर्ण हुने स्थानीयको भनाइ थियो ।

“एम्बुलेन्स आउने केराबारीडाँडा वा दोभानसम्म बिरामी बोक्न कम्तीमा दुई घन्टा लाग्छ । पानी परेको बेला चिप्लो ओरालो झर्नै सक्दैन । सुत्केरीलाई बोकेर झन कसरी झर्नु निकै समस्या छ”,वीरबहादुरले दुखेसो पोखे । उनका अनुसार व्यथा सामान्य रह्योे र गाह्रो भएन भने गाउँमै सुत्केरी गराउने चलन छ ।

सुत्केरी व्यथा लामो समयसम्म लाग्यो वा गर्भवतीलाई गाह्रो भयो भने मात्रै नौबिसे स्वास्थ्य चौकी लाने गरिएको फुर्लुङ डाँडाकी विष्णुकुमारी धलानले बताईन् । “घरमै सुत्केरी भयो भने नाभी काट्न जान्ने पनि कोही छैनन्”,उनले भनिन्, “हचुवाकै भरमा छिनाल्ने चलन अहिले पनि छ ।”

सुत्केरी हुने समय नजिकै आएका केही गर्भवतीले अस्पताल छेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका महिला स्वयंसेविका कविता लामाले बताइन् । “अस्पताल नजिक आफन्त हुनेहरुले त्यही बस्ने गरेका छन्”, उनले भनिन्, “अधिकांश गर्भवतीले त्यसो गर्न सक्दैनन् । व्यथाले सारै नचापेसम्म घरमै बच्चा जन्माउने कोशिस गर्ने गरेका छन् ।”

“अघिल्लो वर्ष मजुवा गाउँकी दुई जना गर्भवतीले घरमै बच्चा जन्माए । थलिको एकजना गर्भवतीलाई बोकेर नौविसे स्वास्थ्य चौकी झार्दाझार्दै बाटैमा बच्चा जन्मियो”, स्वयंसेवका कविताले भनिन्, “घरमै बच्चा जन्माउने र बाटोमा सुत्केरी हुने घटना हाम्रो गाउँका लागि कुनै नौलो घटना होइन ।” सबैभन्दा माथिको गाउँबाट बिरामी बोकेर एम्बुलेन्स पुग्ने दोभानसम्म पुग्न चार घण्टा लाग्ने उनले बताइन् । “अहिले दोभानसम्म मात्रै एम्बुलेन्स आइपुग्छ, त्यहाँसम्म पुग्न नजिकको गाउँबाट दुई घण्टा टाढाको गाउँबाट चार घण्टासम्म बिरामी बोक्नुपर्छ”, उनले भनिन् ।

नगर क्षेत्रभित्रका गर्भवती र सुत्केरी बोक्न एम्बुलेन्स शुल्कसमेत निःशुल्क गराएको धुनिबेँसी नगरपालिकाले जनाएको छ । “टोलटोलमा स्टेचर पठाएका छौँ भने वडा नं ७ भित्र तीन जना महिला स्वयंसेविका पनि खटाएका छौँ”, वडाध्यक्ष यदुनाथ पाठकले भने, “ गुर्दुम यहाँको दुर्गम ठाउँ भएकाले एउटा बस्तीबाट अर्को बस्तीमा पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।” सम्भव भएसम्म गर्भवतीलाई आवश्यक पर्ने सबै सेवा सुविधा दिने कोशिस गरेका गरिएको जनाउँदै उनले भौगोलिक विकटताले समस्या भइरहेको बताए ।

गाउँमा बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकी नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर बच्चा जन्माउन बाध्य छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: