Sun. Jul 21st, 2024

लकडाउनको उपहार कागती खेती


धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेसीमा ग्रिल व्यवसाय गर्दै आएका लम्सालको व्यवसाय कोरोनाले ठप्प बनेपछि कागती खेती थालेको हो । उनले भने–‘यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।’

अहिले लम्सालको साँझ विहान कागती खेतीमै वित्ने गरेको छ । २०७६ सालमा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार व्यवसाय सुनसान भए । कोरोनाले कोहि कतै हिड्डुल गर्ने अवस्था रहेन । त्यहि फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दंग परेका छन् । तीन रोपनी बारीमा कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उनले भने –‘लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको श्रोत बनेको छ ।’

बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्रि भइरहेको छ । धादिङबेसीका कतिपय तरकारी व्यापारीहरु कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेहरुलाई माग अनुसार टिपेर पु¥याइदिने गरिरहेको लम्सालले बताए ।

बर्खाले गर्दा मुख्य पेशा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ । कृषि प्राविधिकसँगको परामर्शबाट कागतीको बिरुवा लगाएका लम्सालले राम्रो आम्दानी लिन थालेको छ । लम्साल भन्छन्–‘थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।’

‘झाँडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कंदैछन्, पोहोर भन्दा यो वर्ष उत्पादन निकै बढेको छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु’, उनले भने–‘सबै बिरुवाले पूर्णरुपमा उत्पादन दिन थालेमा धादिङबेसीको बजारले उत्पादन थेग्न सक्दैन ।’

कोरोना महामारीकै बेला विरुवा हुर्काएका नीलकण्ठ नगरपालिका–१० ज्यामरुङका इश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ । परीक्षणको रुपमा लगाएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । अघिल्लो वर्ष दुई लाखको कागती विक्रि भएपनि यो वर्ष चार लाख कमाउने उनको लक्ष्य छ ।

एक सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन शुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि लम्सालले अहिले फेरी ६० बोट कागती थपेका छन् । लकडाउनअघि ठेक्कापट्टाको काम गर्दै आएका लम्सालले कागतीखेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरिरहेका छन् । हालसम्म कागतीमा १० लाख बराबरको लगानी भएको लम्सालको भनाई छ । दाना विक्रि नभएको बेला निचोरेर रस बनाई बेच्ने गरेका छन् । रस निचोरेर बेच्दा लिटरको दुई हजारसम्ममा गाउँमै विक्रि हुने गरेको छ ।

सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले ज्यामरुङका आधा दर्जन किसानले व्यावसायिक कागतीखेती थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकोले धमाधम व्यावसायीक खेती थालिएको छ । यो वर्ष मात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेम बहादुर ढकाल, विएन ढकाल, दिनेशचन्द्र ढकालले गरी करिब दुई हजार बोट कागती लगाएका छन् । अन्य बालीमा बाँदरले अत्याधिक क्षति गर्ने भएकोले पनि इश्वरी लम्सालले गरेको कागती खेती देखेर आफुहरुले पनि सिकेको उनको भनाई छ ।

जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए ।

धुनिबेसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन् । थाक्रे, नेत्रावती र वेनिघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यवसायिक खेतीका रुपमा अघि बढाउन थालेका छन् । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् ।

कागती खेतीलाई सम्बन्धित निकायहरुले चासो दिन सके मकै, कोदोलागायत बाँदरले आतंक मच्चाउने ठाउँहरुमा कागतीको विरुवा लगाउने कृषकको संख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको बुझाइ छ । नेपाली बजारमा कागतीको मूल्य प्रतिकिलो एक सय ५० देखि चार सय सम्म पुग्ने गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: