Sat. Oct 12th, 2024

गोरखाको बालुवामा पहिरो, नदी थुनिने त्रास

371Gorkha_2_932177798
२६ साउन, गोरखा –  गएराति झरेको पहिरोका कारण गोरखाको सिम्जुङ–९ स्थित बालुवा बजार उच्च जोखिममा परेको छ । बालुवाबजारको पारिपट्टि सौरपानीको डाँडाबाट झरेको पहिरोले दरौँदी नदीको एउटा भङ्गालो थुनिएपछि बालुवाबजारवासी त्रासमा छन् । भीषण वर्षासँगै गएराति १ बजेतिर पहिरो झरेको थियो । पहिरोले दरौँदी नदीको सौरपानी गाविसतर्फको सानो भङ्गालो थुनिएको स्थानीयवासीले जनाएका छन् ।

स्थानीयवासी चन्द्र घलेका अनुसार दरौँदीको भङ्गालो थुनिएपछि बस्तीमा पानी पस्ने र पहिरो जाने डरले गाउँले त्रासमा छन् । उनले भने – “ठूलो आवाजसाथ पहिरो झरेको थियो । दरौंँदीको एउटा भङ्गालो थुनिएछ । पहिरो नाघेर बिहानदेखि पानी बग्यो ।” पानी पर्न रोकिएको छ तर, पहिरो झरिरहेको छ । बालुवाबजारको पारिपट्टि बारपाक सडकखण्डमा पहिरो झरेको हो ।

भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँ नजिकै बालुवाबजार पर्छ । भूकम्प गएपछि सोही ठाउँमा ठूलो पहिरो झरेको थियो । पहिरोभित्र पुरिएका दुईजनाको शव १७ दिनपछि सेनाको टोलीले बाहिर निकालेको थियो । सिम्जुङ–सौरपानी जोड्ने दरौँदी नदीमाथि निर्माण भएको पुल नजिकै पहिरो झरेको घलेले बताए ।

“दरौँदीको भेल बस्तीमा पस्ने डरले सुरक्षित ठाउँमा बस्यौँ, रातभर अनिदो बितायौँ,” उनले भने – “अस्थायी प्रहरी चौकी बालुवाका प्रहरीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा लगे ।” बिहान उज्यालो भएपछि मानिसहरु आ–आफ्ना घर गएको उहाँको भनाइ छ । भूकम्पले पहिरो नजिकैको झोलुङ्गे बस्ती विस्थापित भएर बालुवाबजारमा बसेका छन् । बालुवामा १५० भन्दा बढी टहरा छन् ।

पहिरोको जोखिम रहेको बालुवाबजार क्षेत्रमा प्रहरी टोली परिचालन गरी स्थानीय जनतालाई सुरक्षित ठाउँमा राखिएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले बताए । “बालुवाबजारको अवस्था सामान्यतर्फ उन्मुख छ,” रेग्मीले भने – “दरौँदीमा पानीको सतह घट्दै गएको छ । आकाशबाट पानी पर्न रोकिएसँगै पहिरो झर्न रोकियो ।” अहिले खतरामुक्त रहेको भन्दै नयाँ सडक ट्र्याक खोलिएपछि पहिरोको झरेको रेग्मीले बताए । गोरखाबजारबाट ४० किलोमिटर टाढा बालुवाबजार पर्छ । रासस

About The Author

अन्य समाचारहरु: