Mon. Sep 16th, 2024

अध्यक्ष ओली भन्छन् -‘नेपाल दुर्दिनको अन्तिम किस्तामा छ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन् । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको स्पष्ट पारे ।

शनिबार भक्तपुरमा विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको उनले उल्लेख गरे ।

ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको पनि बताए । अहिले नेपाल ‘दुर्दिनको अन्तिम किस्ता’मा रहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकेको बताए । नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । आफूलाई देश र जनताप्रति माया गर्ने इमानदार राजनीतिकर्मीको रूपमा बुझिदिन उनले आग्रह गरे ।

नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिल्कुलै रक्षा गर्न सक्ने र राष्ट्रिय हितको रक्षा गर्न सक्ने र राष्ट्रिय स्वाभिमानको झन्डा माथि उठाउन सक्ने हुनुपर्दछ,” उनले भने, “म तपाईंहरूसँग त्यो अपेक्षा गर्दछु । त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिनँ, यतिचाहिँ हो– म इमानका साथ काम गर्छु । इमानदार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।”

कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत गीत बढी मनपर्ने बताए । उनले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुसी भएको प्रतिक्रिया दिए ।

About The Author

अन्य समाचारहरु: