Mon. Jun 24th, 2024

देखासिकीले महंगिएको तीज

– उषा रेग्मी
रातभरि काम गरेऊ की के, कस्तो थकित देखिएको । उठेर बरण्डामा आई नपुग्दै श्रीमानले सोधेको प्रश्नले झस्किए, बरण्डासँगै रहेको आल्मुनियमका काला सिसामा आफुलाई नियाल्छु, साँच्चै थकित मुद्रामा पाउँछु । श्रीमानको प्रश्नमा हाँसो मिसाउँदै तीज आयो नि हजुर भन्ने बेअर्थे उत्तर दिन्छु । श्रीमानले हाँस्दै भन्नु भयो, जाउ फ्रेस भएर आऊ । म नबोली जुरुक्क उठेर पुनः बिछ्यौनामा पुग्छु । मनमा नानाथरीका प्रश्नहरुको ओइरो लाग्छ, मेरो मनसपटलमा द्वन्द चल्छ । जहाँ प्रश्न, उत्तर र विचारमा केबल मेरो स्वामित्व हुन्छ । ‘म आजकाल किन थकित छु ? मलाई केले थकित बनाउँदै छ ?, के मेरो थकानको कुनै औषधि छ ? यो बेमतलबको थकाईबाट मेरो मस्तिष्कले कहिले छुटकारा पाउँला ?’ जस्ता यावत् प्रश्नलाई मैले हृदय प्रफुल्ल बनाउने उत्तर दिन्छु । म आफै दंग पर्छु अनि समस्याको जड खोज्न थाल्छु ।

थकानको यो शिलशिला एक हप्ता अघि आराध्यासँगको फोन सम्पर्क पश्चात् सुरु भएको हो, हाम्रो संवाद अन्य बेलाको संवाद जस्तै थिए । तर आराध्याले बोलेको आज बिनु दिदीको घरमा दर पोग्राम छ, दिदीले तिमीलाई पनि साथमा ल्याउनु भनिस्या छ, सबै रातो फूलबुट्टे सारी र रातो ब्लाउजमा आउने कुरा छ, एउटै कपडा लगाएर टिकटक बनाउने रे, म तिम्रो घरमा आउँछु अनि सँगै दर पोग्राममा जानुपर्छ है, भन्ने वाक्यले म’मा नैराश्यता ल्याएको थियो, मलाई बेचैन बनाएको थियो र आजसम्म पनि म यो बेचैनीबाट बाहिर आउन सकेको छैन । तपाईहरु सोच्नुहोला यस्तो हलुका वाक्यमा पनि किन यस्तो बेचैनी ? सुन्दा सामान्य लागेता पनि यो वाक्यले म जस्तो मध्यम वर्गिय महिलालाई अनिदो बनाउने साहस बोकेको छ ।

सानैदेखि मैले मेरो हजुरआमा, आमा, काकी, दिदीहरुले तीजलाई एक विशेष र सौभाग्यको पर्वको रुपमा पुजेको देखेँ । ब्रतको अघिल्लो दिन विवाह गरेर टाढा–टाढा पुगेका महिला आफ्नो माईती गाउँ आउँथे । पञ्चमीको दिनसम्म वस्तुभाउलाई पुग्ने घाँस, स्वतरको जोहो दर खाने दिनमै गर्थे । जिम्मेवारीलाई नै महत्वमा राख्ने भएर होला मामाघर जाने अथाह चाहलाई ओझेल पार्दै मेरी आमा दिदीहरु आउने बाटो ढुकेर बस्नुहुन्थो । बेलुका दर खाई घरधन्दा भ्याएर सबै महिला दिदी बहिनी रमाइलो गर्न ठूली आमैको आँगनमा जम्मा हुन्थ्थे । गितमा आफ्नु पिर व्यथा पोक्थ्थे, रमाउँथे । त्यो क्षण यस्तो लाग्थ्यो, तीज महिलाले कुण्ठा पारेर राखेको भावना छताछुल्ल पारि पोख्न सक्ने चाड हो ।

ब्रतको दिन सबेरै नुहाई धुवाई सकी सोह्रश्रृङ्गारमा सजिएर मन्दिर, पौवामा रमाइलो गर्दै, बेलुका श्रीमानको गोडाको पानी खाई सम्पूर्ण विवाहित महिलाहरुले आफ्नु ब्रत समापन गर्थे । मैले देखेको त्यो तीज कति रमाइलो र आन्दित थियो, मितव्ययी थियो, सरल अनि सहज थियो, तडकभडकको गन्ध कहीँ कतै थिएन । म सानैदेखि सोच्थे, विवाह पश्चात् म मेरी आमाले जस्तै गरि तीज मनाउँछु । विवाहको वस्त्रमा पुनः सजिएर हरेक तीजमा आफुलाई फेरि बेहुली बनाउँछु । तर मैले भोगेको तीज महङ्गो हुन गयो, मेरो लागि निकै असहज बनिदियो । देखासिकी कहिले र कति सम्म गरौ ? आफ्नु मन र आकांक्षालाई दबाएर कठपुत्ली बनेर यो देखावटी समाजमा कहिलेसम्म हो मा हो मिलाऊ ? म दिक्क भैसकी । यहीँ भएर बेचैन छु, जबजब तीज आउँछम अनिदो हुन्छु ।

गत तीज मेरो लागि झन च्वाँस्स खोच्ने काँडा बनिदियो, तिनै बिनुको दिदीको निमन्त्रणा स्वीकारेर म उनले दिएको ड्रेसिङ् कोड भन्दा बिल्कुलै फरक शैलीमा, आफुले इच्छाएको र पुरानै सारीमा दर पोग्राममा सरिक भए, त्यो दिन मैले लगाएको सारी निकै आलोचित बन्यो, म उपस्थित सबै महिलाको लागि आँखाको कसिङगार बने, मेरो मजाक र खिल्लि उडाउन प्रयोग भएका शब्दहरुले हललाई प्रचण्ड बनायो, अनि मलाई भयभित । म निकै आत्तिए । यहाँ आफ्नो खुःसीलाई रवाफकै लागि मान्छेहरुले कति सजिलो सँग तिलाञ्जलि दिदा रहेछन म दंग परे । ठूलाठूला आवाजमा बजारे गितमा रमाएको तहाँको साउण्ड सिस्टमले कुनै पनि दिदीबहिनीको व्यथालाई संगितमा उत्रान दिएको थिएन, मजाक उडाएको थियो, तीजको विशेषताको, म जस्तो महिलाको । टेबुल भरि सजाएर राखिएको चौरासी व्यजनले ठूली आमैकोमा खाएको खिरको स्वाद बोकेकै थिएन, त्यो हलमा देखासिकी र रवाफको नृत्य मात्र चलेको थियो । जहाँ म कठपुतली बनेर नृत्य देखाउँदै थिए ।

अब पुन: म आफ्नो मजाक बनाउन त्यही दिदीको निमन्त्रणा कसरी शिरोपर गरौ ? ममा त्यो खुबी नै छैन, म रमाउन नै सक्दिन देखावटी दुनियामा । बिछ्यौनको बिपरीत दिशामा रहेको ऐनामा प्रतिबिम्बित आफ्नो क्रोधित अनुहारलाई हेर्दै ग्लानी भावमा गुनगुनाउछु;’तिज आउनु एक महिना अघि मात्र किन भान हुन्छ, मैले संगत नै महंगो गरिछु भनेर। मलाई तीजमा माइतजानु नजानु सँग कुनै मतलब नै छैन, छ त यही म यो तीज कसरी धानौँ ?म परे मध्यम वर्गीय दिनरात काम गर्यो खानलाउन ठिक्क । अलिअलि बचत हुन्छ तर कुन बेला के पर्छ बैकंमा जोरजम्मा गरेको दुईचार हजार पनि सक्किजान्छ ।कहिले जागिरले एक महिना कटाउला र घरखर्च टारौला भनेर सक्किएको सामानको लामो लिस्ट भिर्ने झोलामा भिरेर हिड्छु । बाहिरबाट नियाल्दा कस्तो सम्पन्न देखिएता पनि भित्र अभावको घण्टी बजिरहेको हुन्छ । भन्न कसैलाई नमिल्ने देखासिकीको जमाना जो छ ।

आयले नभ्याए, साथीसंगीसँग दश पन्ध्र हजार उधारो माग्यो रवाफ त चलिहाल्छ । भन्दा नपत्याउनु होला, मैले साउनको सुरुवाती देखि अन्त्य सम्ममा आइपुग्दा नजिकका संगीसँग दुईचार हजार गर्दागर्दै बीस हजार सापटी मागिछु । त्यो पनि चल्ती अनुसारका थरीथरीका सारी भिर्नको लागि । आफ्नो दिनरातको मिहेनतलाई लत्ता कपडामा खर्च गर्न मलाई किमार्थ स्विकार्य छैन । मेरो आत्माले मलाई पलपल धिक्कार्छ, अति भयो भन्छ तर पनि म बाध्य छु, अहिलेको संस्कार पछ्याउन ।डर लाग्छ, समय अनुसार आफुलाई चलाउन सकिन भने कहीँ यो ब्रम्हाण्डबाट डाइनोसर जस्तै मेरो अस्तित्व पनि लोप हुन्छ की ? तर कहिले सम्म निरन्तरता दिऊ नयाँनयाँ टेन्डलाई वाक्क लाग्छ ।

म झसङ्ग भएँ, यो पटक झन म’सँग गरगहना नै छैन । व्यवसायिक प्रयोजनको लागि भएका सम्पूर्ण गरगहना बन्धकी छ, नक्कली गरगहनामा अनावश्यक खर्च गर्न मलाई फिटिक्कै मन छैन, गरगहना नलगाउँदा झन म कति मजाकको पात्र बन्छु होला ? जुरुक्क बिछ्यौनाबाट उठेँ, भुतभुताउन थालेँ, अति भयो यो बेमतलबको द्वन्द, अब म मात्र मेरो विचारलाई जित्न दिन्छु, आफुलाई जिताउँछु । मेरो आमाबुबाले सानै देखि सिकाएको, घाँटी हेरेर हाड निल्नुउखान अवलम्बन गर्छु । परिवर्तन विचारमा आवश्यकता छ पहिरनमा हैन ।देखासिकी सँस्कृतिलाई दिगो बनाउनको लागि आवश्यक छ, विकृति बढाउनको लागि हैन । तीज विशेष महत्व बोकेको पर्व हो, यसलाई आज उप्रान्त आफ्नै शैलीमा अझ विशेष बनाउँछु । दुनियाँको पछि लागेर माहान पर्वलाई महंगो पर्व कदापी बनाउदिन । मैले र मेरो श्रीमानले दिनरात मिहेनत गरेर आफ्नो सुन्दर भविष्यको लागि संचित गरेको धन अनावश्यक वस्त्रमा खर्च कहिल्यै गर्दिन । म जे छु एकदम ठिक छु, खुःसी छु । अरुले मेरो मजाक उडाउछन भनेर पछाडी हट्ने छैन, ती तमाम मजाकको सामाना गर्नेछु र एउटा राम्रो सन्देश छोड्नेछु ।

लामो श्वास फेर्छु, मनमनै भन्छु, हेर यस्तो विचार पहिल्यै आएको भए म यति बिघ्न बेचैन बन्नेनै थिइन । यो पटक बिनु दिदीकोमा अवश्य जानेछु । उनको शैलीमा हैन, मेरो सादगीमा । अल्टर बन्छु, तर मेरो विचार माथि देखासिकी हाबी हुन दिन्न । भाइरल हुनको लागि आफ्नो पसिनाको मुल्य अनायासै लत्ता कपडामा खर्च गरि टिकटक बनाउदिन । कुल भएँ, मानौ मैले अमृतपान गरे, लामो समय देखिको बेचैनी क्षणभरमै गायब भयो ।मेरो मनलाई प्रफुल्ल बनाउने उत्तर अखिर मैले पाएँ अनि प्रण गरे, तीजलाई सधैँ उत्कृष्ट बनाउनेछु । महंगो हैन ।

About The Author

Loading...