Sun. Apr 28th, 2024

चिकित्सकहरुको आन्दोलनले धादिङ अस्पतालमा बिरामीको बिचल्ली

शंकर श्रेष्ठ
धादिङ–
नीलकण्ठ नगरपालिका–१२ का ८० वर्षीय आत्मदेव रिजाल आइतबार करिब ११ बजे धादिङ अस्पताल आइपुगे । कानको चेकजाँच गर्न अस्पताल आइपुगेका रिजालले टिकट काट्न पाएनन् । आजको हडतालबारे उनलाई थाहा थिएन ।

लेखपढ गर्न नसक्ने अवस्थाका रिजाललाई अरु कसैले आज टिकट काटेर उपचार नहुने कुरा सुनाइदिए । ‘बिहानै थाहा पाउन पाएको भए दुःख नहुने रैछ, बुढो मान्छे चर्काे घाममा हिँडेर अस्पताल आउन दुःख मात्रै पाएँ ।’ ‘कान दुखेर बल्लतल्ल अस्पताल आइपुगेँ, आज बन्द छ भनेर टिकट नै दिएन । बुढो मान्छे सारै दुःख पाएँ’, उनले थपे ।

आइतबार यस्ता दुःख धेरै पाए । ग्रामीण वस्तीबाट चिप्लो हिलो बाटो कष्टसँग अस्पताल आइपुगेका बृद्धबृद्धा र दुधे बच्चा च्यापेर आइपुगेका सुत्केरीले सुनाएको दुःख सुनिसक्नु छैन । चर्काे घाममा खचाखच गाडीमा कोचिएर सदरमुकामको अस्पतालमा जचाउन आइपुगेकाहरु कहाँ जाने र के गर्ने चिन्ताले भौतारिकएका छन् ।

नेपाल चिकित्सक संघले आव्हानमा गरेको आन्दोलनको असर धादिङ अस्पतालमा प्रत्यक्ष देखिएको छ । चिकित्सकहले अस्पतालको ओपिडी सेवा बन्द गराउदा बिरामीहरु उपचारबाट बञ्चित भएका छन् । इमर्जेन्सी कक्षमा पनि सिकिस्त बिरामीलाई मात्रै हेरिने भन्दै गेट बन्द गरिएपछि धादिङ अस्पताल आइपुगेका बिरामी थप समस्यामा परेका छन् ।

चिकित्सकहरुले नै दिन तोकेर फलोअपमा बोलाएका बिरामीले पनि अलपत्र परेका छन् । नियमित औषधी सेवन गर्नुपर्ने बिरामीका आफन्तहरुले पनि औषधी नपाउँदा अब के गर्ने भन्ने चिन्तामा परेका छन् । ‘एक पटक पनि औषधी छुटाउन मिल्दैन, बेलुका खाने औषधी पनि छैन । टिकटमा नलेखिदिए औषधी दिन मिल्दैन भनेर फर्काइदियो’, नीलकण्ठ नगरपालिका–२ बसाहाका अर्जुन प्रसाद अधिकारीले भने–‘न्याय मागेर आन्दोलन गर्ने नाममा हाम्रो बिरामीको पनि ज्यान जाने भयो ।’

अस्पताल प्राङ्गढमा भेटिएका स्वास्थ्यकर्मीहरुले प्रशासनमा गएर कुरा गर्नुस् भन्दै धम्कीपूर्ण भाषा बोलेको उनले गुनासो सुनाए । औषधी छुट्यो भने थप समस्या बल्झिने चिन्तामा अस्पतालका कोठा कोठा चाहारेर सबैलाई विन्ती गर्दा पनि औषधीको चाँजो मिलाउन नसकेको अधिकारीले सुनाए ।

स–साना बालाबाला च्यापेर उपचारका लागि अस्पताल आइपुगेका र ग्रामीण बस्तीहरुबाट बृद्धबृद्धाको उपचारमा आइपुगेकाहरुको अझ बढी विचल्ली भएको छ । नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट दुधे नानी च्यापेर आफ्नै उपचारको लागि आइपुगेकी निर्मला शाक्यले अस्पताल आइपुग्दा सेवा नपाएको गुनासो गरिन् । ‘टाढादेखि बच्चा बोकेर आइयो, बन्द रहेछ थाहा थिएन । हिजो शनिबार भएर आज आए तर फर्किनुपर्ने भयो’, शाक्यले भनिन्–‘अनेकन बहानामा होस् या जुनसुकै अवस्थामा अस्पतालको सेवा बन्द गर्न मिल्दैन । यसले बिरामीको अवस्था बिग्रियो र तलमाथी भयो भने त्यसको जिम्मेवारी आन्दोलनरत चिकित्सकले नै लिनुपर्छ ।’

बच्चाको घाँटीमा घाउ भएपछि उपचारको लागि आईपुगेका अर्जुन नेपालको दम्पत्तिले इमर्जेन्सी कक्षमा प्रवेश नपाएपछि अस्पताल परिसरमै अल्मलिनु प¥यो । ओपिडी बन्द छ इमर्जेन्सीमा जान सिकिस्तै भए मात्रै हो नत्र मिल्दैन भनेर गार्ड फर्काइदियो । ‘शुक्रबार आउँदा रगत जाँच गर्नुपर्छ आइतबार आउनुस् भन्यो, अहिले इमर्जेन्सीमा पनि देखाउन पाइएन । प्राइभेटमा जान पैसा धेरै लाग्छ होला अब कहाँ जाने ? हाम्रो उपाय भएन’, नेपालले चिन्ता सुनाए । आन्दोलन गरेर अर्काे मान्छे मर्ने अवस्था आउने गरी सेवा बन्द गर्न नहुने उनको भनाई छ ।

आफ्नै उपचारको लागि आइतबार धादिङ अस्पताल पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका स्वकीय सचिव समेत रहेका विजय बुर्लाकोटीले आन्दोलन गरेर ओपिडी बन्द गरे जनतालाई सास्ती दिने कार्य गर्न नहुने बताए । ‘चिकित्सकमाथी हातपात हुनु दुखद छ तर, दिनानुदिन बिरामीको चाप भइरहेको अवस्थामा अस्पतालको सेवा बन्द गरेर आम जनतालाई सुविधाबाट बन्चित गराउनु राम्रो होइन’, बुर्लाकोटीले भने ।

धादिङ अस्पतालमा दैनिक चार सयको हाराहारीमा बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । डेंगु, स्क्रपटाइप्स, भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप अझ बढेको छ । यी सबै बिरामीको बिचल्ली भएको छ ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: