
शंकर श्रेष्ठ,
धादिङ
दिनहुँ यात्रु ओसार पसार गर्ने अधिकांश सवारी चालकहरुमा स्वास्थ्य समस्या भेटिएको छ । अधिकांशमा उच्च रक्तचाप र सुगरको समस्या देखिएको छ । कतिपयको त आँखाको कलरभिजन नै कमजोर ‘एवनर्मल’ भेटिएको छ ।
दुर्घटनाको जोखिम न्युनिकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले गरेको सवारी हाकिरहेका चालकहरुको स्वास्थ्य परीक्षणमा यस्तो समस्या देखिएको हो । अधिकांश दुर्घटनामा चालककै कमजोरी देखिएपछि कारण पत्ता लगाउन गरिएको स्वास्थ्य परीक्षणमा चालकको स्वास्थ्य अवस्था नाजुक पाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
धादिङबाट काठमाडौं, चितवन, पोखरालगायत जिल्लाहरुमा चल्ने यात्रु बाहक सवारी र ट्रकका ९२ जना चालकको परीक्षणमा ३२ जनाको रक्तचाप १३० भन्दा माथी भएको पाइएको छ । १९ जनामा १२० परडिएल भन्दा माथी सुगर भएको भेटिएको छ । विहान खाना खानु भन्दा अगाडि नै गरिएको चेकजाँचमा पनि यतिधेरैमा उच्च रक्तचाप र सुगर देखिनुले चालकको अवस्था डरलाग्दो देखिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।
सामान्य अवस्थामा स्वस्थ मानिसको रक्तचाप माथी १२० र तल ८० हुनुपर्छ । खाली पेटमा जाँच गर्दा सुगर ६० देखि ११० परडिएललाई सामान्य मानिन्छ । तर, स्वास्थ्य परीक्षण गर्दा ३० प्रतिशत चालकको रक्तचाप उच्चतम १३० देखि १७० सम्म (माथी) भेटिएको छ । पाँच एक सय ८५ जना चालकको आँखा परीक्षणमा पाँच जनाको आँखाको कलर भिजन कमजोर भेटिए ।
केही दिनअघि पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको मझिमटारमा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा चार जना चालक अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थामा भेटिएका थिए । नेपालगञ्जका ३९ वर्षीय रवि परियारको रक्तचाप २१०/१५० देखियो । धादिङका ३६ वर्षीय शिव कुँवरको रक्तचाप १९०/१३० रहेको पाइयो । त्यस्तै तनहुँका ४५ वर्षीय प्रेम आलेको २२०/१२० र धादिङका ३७ वर्षीय सुजित राईको २१०/१५० रक्तचाप देखियो । ३३१ परडिएल सुगर रहेका बिरामी चालक पनि यही भेटिए । यो केही उदाहरण मात्रै हो । स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मीहरुका अनुसार यतिसम्म उच्च रक्तचाप भएका बिरामीलाई अस्पतामा भर्नै गरेर उपचार गराउनुपर्छ । कुनैपनि अवस्थामा अपरझट आफै ढल्न सक्छ । तर, त्यस्ता चालकले यात्रु बोकेर निर्वाद रुपमा कुदिरहेका छन् ।
चालकहरुको स्वास्थ्य परीक्षणमा सहभागी स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ ल्याव असिस्टेन्ट जुनु श्रेष्ठ भन्छिन्– ‘रक्तचाप २२०/१२० हुनु भनेको तुरुन्तै औषधि चलाउनुपर्ने खालको विरामी हो । त्यस्ता उच्च रक्तचाप भएकाहरुलाई जुनकुनै बेला जे पनि हुन सक्छ । जति बेला पनि ढल्न सक्छन् । भर्ना गरेर औषधि लिनु पर्ने अवस्थाका चालक हुन् । टाउकोमा रक्तनली फुट्ने, रगतको ढिका जम्ने जस्ता समस्या आइ ब्रेन ह्याम्ब्रेज हुन सक्छ । त्यस्ता समस्या देखिएकाहरुले तुरुन्त चिकित्सकको सल्लाह लिएर तत्काल उपचार गर्नुपर्छ ।’
सुगर ३१३ पर डिएल भनेको धेरै नै हो । तत्काल रगत जाँच गरी उपचार गर्नुपर्छ । खाली पेटमा १२० र खाना खाएको दुइ घण्टापछि १४० पर डिएल भन्दा बढी आयो भने विरामीको अवस्था हेरेर चिकित्सकको सल्लाह अनुसार उपचार तथा औषधि सेवन गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
स्वास्थ्य परिक्षण अभियान अन्तरगत चालक तथा सहचालकको ब्लड प्रेसर, सुगर, आँखाको भिजन टेष्ट, लगायत मानसिक तथा शारिरीक थकानको समेत चेकजाँच गरिएको हो । धेरैजसो दुर्घटना चालककै कारण भएको भनिएपनि चालकको कमजोरी देखिनुको भित्री रहस्य स्वास्थ्य समस्या नै देखिएको छ । लामो दुरीमा चल्ने रात्रीकालिन सेवाका सवारी चालकमा अझ बढी स्वास्थ्य समस्या रहेको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले बताए । समस्या देखिएका चालकलाई आराम गराउने, परिवार तथा सवारी साधनका लगानीकर्ताहरुलाई जानकारी गराइदिने र थप उपचारका लागि सल्लाह समेत दिने गरिएको श्रेष्ठले जानकारी दिए ।
धादिङमा दुइ ठूला पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ रहेका छन् । राजमार्गहरुमा दिनहुँ जस्तो सवारी दुर्घटना हुन्छन् । सडक, सवारी साधन, चालकहरुको लापरबाही र कमजोरी तथा अन्य कारण मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । तर चालकले आफ्नै स्वास्थ्यको समेत ध्यान दिन नसक्दा यात्रु लगायत अरुलाई समेत जोखिम थपेको छ । प्रहरीले अब चालकको लाइसेन्स र व्लूबुकसँगै स्वास्थ्य अवस्थाबारे पनि सोधपुछ गर्ने कुरालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रको भनाई छ ।
‘सधैं चालकको लाइसेन्स र सवारीका काजगपत्र चेकजाँच गरिन्थ्यो । ठिक भए पठाउने र कागजपत्रमा त्रुटी भए कार्वाहिमा पर्थे । आजसम्म चालकको स्वास्थ्य अवस्थाबारे चासो थिएन’, मिश्रले भन्छन्– ‘लाइसेन्स लिने बेला स्वाथ मानिसको स्वास्थ्य पछि बिग्रन पनि सक्छ । त्यसैले, अबदेखि प्रहरीले चालकको स्वास्थ्य अवस्थाबारे पनि चासो राख्ने र परीक्षण गराउने अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।’
सवारी चलाउँदै गरेका चालकलाई सडकमा केहीबेर रोकेर गरिएको स्वास्थ्य परिक्षणले चालक तथा सहचालकको बिग्रदो स्वास्थ्य अवस्थाको पहिचान भएको छ । चालकहरु आफै पनि सचेत भएका छन् । कतिपयले आफ्नो स्वास्थ्य समस्या थाहा भएपछि उपचार गर्न थालेका छन् । चालकको स्वास्थ्य समस्याकै कारण हुने सवारी दुर्घटनाको जोखिम कम गर्न जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय गजुरीले थालेको यो अभियानले निरन्तरता पाउने र अन्य जिल्लालाई पनि सिकाइ हुने अपेक्षा गरिएको छ ।