
धादिङ– धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा दुई जनामाथी एसिड प्रहार भएको छ । भद्रकाली सुन चाँदी पसलका संचालक बेनिघाट रोराङ गाउँपालिका–३ कात्राकका ३२ वर्षीय प्रविण वि.क.ले एसिड प्रहार गरेको हो ।
बेनिघाट रोराङ–३ रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र कात्राककै ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । क्षेत्रीको शरीरका विभिन्न भागमा र पुलामीको अनुहारसहित शरीरमा एसिड लागेको छ ।
रातभर तीज गीत गाएर बस्ने क्रममा बिहानपख सामान्य विवादपछि हात हालाहाल भएको र भागेर आफ्नै सुन पसलभित्र छिर्दा पसलभित्रै गएर कुटपिट भएपछि संचालक बि.क.ले सुन सफा गर्न रोखेको एसिडले उनीहरुमाथी प्रहार गरेको स्थानीयहरुले बताएका छन् । एक स्थानीयले भने–‘सुन पसल नजिकै किराना पसल अगाडि नाचगान भइरहेको थियो । निरुष सिलवालले सुन पसल संचालकमाथी हातपात गरे । सुन पसलले वि.क. भागेर पसलभित्र पुगे । दिपेश क्षेत्रीले पसलभित्रै गएर कुटपिट गर्न थालेपछि ज्यान बचाउन सुन पसल वि.क.ले एसिड हानेको हो ।’ निरुष र दिपेश साथी हुन् । घाइते हुने पुलामी सुन पसल संचालक वि.क.का काका हुन् । एसिड भएको भाँडोले नै हान्ने क्रममा छेक्न गएका पुलामीलाई पनि एसिड लागेको उनीहरुको भनाई छ ।
मदिरा सेवन गरेका निरुष र दिपेशले मोटर साइकल माग्दा सुन पसलका संचालक वि.कले अस्वीकार गरेपछि झगडाको विषयमा बनेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । एसिड हान्ने वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते दुबै जनालाई मलेखु टिचिङ अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिए ।