
विश्वमा हरेक वर्ष २ करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखा परेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ ।
हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहोर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँघुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ । त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पुर्याउनु पर्ने मांसपेशीमा रगत पुर्याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो ।
सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ मन लगाऔँ मुटु बचाऔँ० वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौँ भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौँ भन्ने हो ।
यसपालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौँ भन्ने छ । अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगिनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ ।