Sun. Feb 9th, 2025

धादिङमा सरकारी अफिसर र राजनीतिक दलबीच छलफल

धादिङ- जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह तथा विकास कार्यक्रमहरुको कार्यान्वयनमा देखिएको समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय धादिङले राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आउदै गरेका चाडपर्वहरुलाई सुरक्षित, मर्यादित तथा सद्भावपूर्ण तरिकाले मनाउने वातावरण बनाउन राजनीतिक दलहरुको भूमिकाका विषयमा पनि छलफल भएको छ । जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने सन्दर्भमा सबै राजनैतिक दलहरुबाट सहजीकरण गर्ने र आफ्ना संगठनमार्फत अपराध न्यूनीकरण सम्बन्धी संचेतनामूलक सन्देश प्रवाह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

सार्वजनिक निकायहरुबाट प्रवाह भइरहेको सेवा तथा विकास कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले नियमित रूपमा अनुगमनको व्यवस्था मिलाई सहजीकरण गर्ने र त्यस कार्यमा राजनैतिक दलहरुले समेत आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । राजमार्ग विस्तारको क्रममा सडक आवगमनमा हुने गरेको अवरोध न्यूनीकरण गरी यातायातलाई सहज बनाउन तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजनालाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।

उपभोग्य बस्तुहरुको अभाव हुन नदिन, कृत्रिम अभाव, महंगी तथा कालो बजारी नियन्त्रण गर्न भइरहेको बजार अनुगमनलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार र प्रदेश सरकारसँग पनि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले पनि अनुगमनमा खाद्यान्नको मुल्यको कुरालाई प्राथमिकता दिन, ग्रामीण रुटमा चल्ने सवारीको अनुगमन गर्न र राजमार्ग विस्तार भइरहेका स्थानहरुमा थुपारिएका सामाग्री व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए ।

About The Author

अन्य समाचारहरु: