Tue. Apr 16th, 2024

राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन धादिङका जिम्मेवार निकायहरु एकमेठ

चाडपर्वको बेला राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउने विषयमा आयोजित बैठकमा धादिङका जिम्मेवार निकायका प्रमुख तथा प्रतिनिधिहरु ।


धादिङ– चाडपर्वको बेला राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरु एक भएर अघि बढ्ने भएका छन् ।

विस्तारको कार्य भइरहेको पृथ्वी राजमार्गमा सहज ढंगले दुईतफी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकायहरुले एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका छन् ।

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पीड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजनाहरु तथा निर्माण व्यवसायीहरुलाई निर्देशन पनि दिएका छन् ।

सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मंगलबार संयुक्त बैठक राखेर गैह्रेले दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसहरुको आवतजावत एवं सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिए ।

जिल्लाभित्रका अन्य सडकहरुमा समेत सहज ढंगले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तिव्रता दिई अवरुद्ध रहेका सडकहरुलाई तत्काल सुधार गराउन एवं संचालनमा रहेका सडकहरुको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय÷आयोजनाहरु र निर्माण व्यवसायीहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

चाडपर्वको समयमा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो सृजना हुन नदिनेगरी आवश्यक संख्यामा सवारी साधनको व्यवस्था गर्न सम्बन्धित व्यवसायीहरु पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसहरुको आवतजावत बढेसँगै सवारी चाप समेत वृद्धि हुने र सवारी दुर्घटना समेत बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यपारीहरूले सवारी साधनको नियमित रुपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमहरुसहित नियमित चेकजाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकहरुले माधक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा अशुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: