धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले उपभोक्ताको अधिकार संरक्षरण गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । खाद्यान्नको गुणस्तर मापन र ठगीबाट जोगिन उपभोक्ताहरुलाई नै सचेत गराउने उद्देश्यले उपभोक्ता अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखिकरणको क्रममा राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष प्रमलाल महर्जनले उपभोक्ता अधिकारको संरक्षण गर्न राज्यपक्षबाट नियमित अनुगमन गर्नुपर्ने, व्यवसायीहरुमा इमान्दारिता हुनुपर्ने र उपभोक्ता पनि आफ्ना अधिकारका बारेमा सचेत हुनुपर्ने कुरालाई जोड दिए । उपभोक्ताको हक र अधिकारका निम्ति राष्ट्रिय उपभोक्ता मञ्चले अभियान सञ्चालन गर्दै आएको उनले बताए ।
उपभोक्ता, ब्यवसायी र सरकारबीच पुलको रुपमा मञ्चले काम गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष महर्जनले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कानुनको कठघरामा उभ्याउन मञ्च लागि पर्ने प्रतिवद्धता पनि जनाए । ‘नेपालमा मापदण्ड अनुसार र उपभोक्तालाई गुणस्तरीय सेवा सुविधा नपाएको अवस्था छ । सरकारको उचित नियमन र बलियो कानुन नहुँदा व्यवसायीबाट हरेक पाइलामा उपभोक्ता ठगिन बाध्य हुनु परेको छ’, महर्जनले भने ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम सुवेदीले केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले आफ्नो अधिकारक्षेत्रभित्र रहेर बजार अनुगमन गर्न पाउने व्यवस्था रहेको जानकारी दिए । स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो उनले सुनाए । भर्खरै मात्र प्राप्त अधिकारमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारीलाई जस्तै अधिकार प्राप्त भएकोले अव नगरभित्र बजार अनुगमनलाई तिब्र बनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहभागी उपभोक्ताका प्रतिनिधिहरुले नियमित बजार अनुगमन नहुँदा र अनुगमन भए पनि दिएको निर्देशन व्यवसायीले कार्यान्वयन नगर्दा गुणस्तरीय वस्तु र सेवा उपभोगमा समस्या रहेको गुनासो गरेका छन् ।