Mon. Dec 4th, 2023

दशैंमा मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं

नेपालमा प्राणघातक नसर्ने रोगहरुको भार बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन २०१९ अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको भार ७१ दशमलव ७ प्रतिशत रहेको छ। 

नेपालमा हुने मृत्युको प्रमुख कारणका रुपमा रहेका नसर्ने रोगहरुमा मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरु रहेका छन्। 

नेपालीहरुमा बढ्दै गएको अस्वस्थ जीवनशैली र खानपानले पछिल्लो समय प्राणघातक दीर्घकालीन नसर्ने रोगहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन्। खानपानमा हुने हेलचेक्र्याइँ, व्यायाम र शारीरिक सक्रियताको कमी, तनाव, धूमपान र मदिरा सेवन लगायतका कारण युवा उमेरमा नै हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल जस्ता गम्भीर रोगका कारण धेरै नेपालीले ज्यान गुमाइरहेका छन्। 

डा राजेन्द्र कोजु पनि चाडबाडको समयमा अन्य समयको तुलनामा जति बढी खानेकुरा खाइन्छ त्यति नै शारीरिक व्यायाम गर्ने, दौडने, हिँड्ने लगायतका क्रियाकलाप गर्न आवश्यक रहेको बताउँछन्। ‘अन्य समयको तुलनामा दशैं–तिहारमा चार/पाँच चोक्टा बढी मासु खाइएको छ भने अन्य समयभन्दा १५/२० मिनेट बढी हिँड्ने तथा दौडने वा व्यायाम गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसका साथै मासु र चिल्लो पदार्थ बढी खाइने भएकाले यो समयमा हरियो तरकारी र फलफूल पनि खानुपर्छ।’

दशैं, तिहार तथा चाडपर्वपछि खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप, मधुमेहका बिरामीहरु तथा यी समस्याको जोखिममा रहेकाहरुमा झन् बढी समस्यामा देखा पर्ने चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार चाडबाडको समयमा पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दीर्घरोगीले मासु, मदिरा, चिल्लो पदार्थ जस्ता खानेकुरा मनलाग्दी खाइदिए भने त ज्यान नै तलमाथि हुन सक्छ।

About The Author

Loading...

अन्य समाचारहरु: