लक्ष्मी शाक्य,
धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका–६ हुलाकभञ्ज्याङमा ३५ वर्षपछि यो दशैंमा रोटेपिङ हालिएको छ । पुराना कला संस्कृतिको जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाहरुले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।
गाउँका सबै युवाहरु मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दशैं रौनकतानै अर्कै बनेको छ । बालादेखि बृद्धसम्मको दशैं रोटेपिङले थप उल्लासमय बनेको छ । ६५ वर्षीय हरिमान शाक्य भन्छन्–‘३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामी जस्ता बुढापाकालाई पनि दशैं रमाइलो हुँदो रहेछ ।’
बाजेका पालासम्म पुस्तान्तरण हुँदै आएपनि बा’को पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँ पुस्ता लागि परेका छन् । यहाँका युवाहरुले गाउँका बुढापाका र बालबालिकाहरुलाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।
यो दशैंमा साना साना बालबालिकाले पनि रोटे पिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा बृद्धबृद्धाहरु पनि मख्ख छन् । मिठो खान भन्दा पनि दशैं मानाउन गाउँ पुगेकाहरु पिङमा नै रमेका छन् ।
मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाई मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्य शाक्यले बताइन् । ‘तीन दशकअघिसम्म हजुरबुबाहरुले दशैंमा बर्सेनि रोटेपिङ खेल्नुहन्थ्यो रे । अहिले देख्नै मुस्किल छ । वर्षमा एक दिन भएपनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन् गर्दै यस्पाली पिङ हालियो’, शाक्यले खुसी सुनाइन् ।
रोजगारीको सिलसिलामा युवा पुस्ता विदेशीने क्रम बढेसँगै पनि दशैं तिहारको रौनकता दिने रोटे पिङ हराउन थालेको हो । प्रविधिको विकाससँगै शहर बजार र मेला महोत्सवमा पैसा तिरेर खेल्न पाइने पिङले पनि रोटेपिङ प्रतिको चासो कम भएको पाइन्छ । शाक्यले भन्छिन्–‘निर्माण गर्न खर्चिलो हुने, काठपात बढी लाग्ने र युवा पुस्तामा सीप अभावकै कारण रोटे पिङ लोप हुदैं गयो । भावी पुस्ताले रोटेपिङ देख्नै नपाउने भए । हाम्रा राष्ट्रिय पर्वहरुसँग जोडिएको संस्कृति जोगाउनु हाम्रो दायित्व हो ।’
रोटे पिङकै ढांचामा फलामको प्रयोग गरि व्यवसायीक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ । तर त्यस्तो पिङमा दसैंमा देखिले रोटे पिङमा जस्तो रौनक पाइदैन । ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखान जस्तै गरि गाउँबाट लोप भईसकेको रोटे पिङ झण्डै ३५ वर्षपछि सोहि स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भन्ज्याङबासीहरु अहिले खुसीले दङ्ग छन् ।
वडा सदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटे पिङ बनेको हो । पुस्तौंदेखि खेल्दै आएको रोटे पिङ एका देशको कथा जस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दशैंमा रोटेपिङ बनाउनुपर्छ भन्ने योजना बनाएँ, वडा सदस्य शाक्यले भने–‘यो प्रस्ताव वडा अध्यक्ष किशोर सेढाई समक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा गाउँमा रोटे पिङ बनाउन सफल भयौं ।’
करिब एक लाख रुपैयाँको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित छ । अहिले मौलिक रूपमा बनाएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डीहरु दसैं सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षहरुमा पनि गाउँमा रोटे पिङ बनाउने कार्यलाई निरन्तरता दिदै जाने उनीहरुले बताएका छन् ।