गायत्री खतिवडा-
मेरी छोरी ११ वर्षकी भइन् । पढ्नमा निकै तेज थिइन् । घरका सवै काम छोरीले नै गर्थिन् । मेरी छोरी उमेरले सानी भएपनि बुद्धि विवेकले ठूली थिइन् । निक्कै बुझ्ककी । श्रीमानले पहिले मलाई खासै राम्रो व्यवहार र माया गर्नुभएन । घर परिवारमा मनमुटाव र तनाइ भइरहयो । श्रीमानले छोरा छोरीलाई पनि त्यति धेरै माया र प्यार दिनुभएन । त्यसैले होला छोरा छोरी जहिले पनि मेरो चिन्ता गर्थे । मेरो साथ दिन्थे । म संग नजिक हुन्थे । बाबुले आमालाई गरेको व्यवहार उनीहरुलाई मन पर्दैन्थ्यो । त्यसैले होला बाबुको त्यति वास्ता गर्दैनथे । जसोतसो परिवार चलिरहेको थियो । बिगत एक वर्ष यता श्रीमानको व्यवहारमा केही सुधार आएको थियो । पहिलेको जस्तो झैझगडा कम भएको थियो । अब उनले पनि कमाइ गर्न थालेका थिए ।
म र छोरा छोरी घरमा बस्थ्यौं । श्रीमान पोखरा तिर कमाइ गरि बस्नुहुथ्यो । अब मेरो परिवार राम्रो भयो भन्ने आशा पलाएको थियो । अरुको जस्तै मेरो घर पनि सुन्दर हुन्छ, मेरा छोराछोरीले अरुको छोराछोरीले जस्तै राम्रो लाउन खान पाउँछन् भन्ने आशा जागेको थियो । छोरा छोरी पनि खुशी नै थिए । तर अचानक हाम्रो भाग्यमा सन्तोषले सास फेरेर बाँच्न लेखेको रहेनछ क्यार अर्को बज्रपात आइलाग्यो । मेरी छोरीको सुन्दर सपनामा कसैले आगो लगाइदियो । फूल जस्ती मेरी छोरीको जिन्दगी पत्र पत्रमा चुँडियो ।
सधै जस्तो हाँस खेल गर्ने छोरी अब टोलाउने भइ । सधै हाँस्दै स्कूलबाट घर आउने छोरी अब चुपचाप फर्कन थाली । भोक लाग्यो भन्दै कराउने छोरी अब खाजा नै माग्न छोडी । बाख्रा गोठालो जाँदा चाँडै घर र्फकन थाली । स्कूल जाँदा राम्री बनेर जाने गर्थी अब कपाल नै नकोरी जाने , र्फकदा पनि एक्लै घर आउने गर्न थाली । घरमा भित्रबाहिर गर्दा पनि ज्यान कक्रक पार्थी । पहिले पुतली जस्ती चञ्चल मेरी छोरी अब अध्याँरी र गरुङ्गो भारीले थिचिएजस्ती भएकी थिइ । एकाएक छोरीमा यस्तो परिर्वतन आएको देख्दा म अन्यौलमा परें । छोरीलाई के भयो ? भनेर सोध्दा कुनै जवाफ आउँदैनथ्यो । छोरीको साथीहरुलाई सोध्दा पनि केही भेउ पाउन सकिन । हरेक समय म छोरीको क्रियाकलापमा नजर राख्थें । तर कारण पत्ता लगाउन सक्दैनथें ।
भुकम्प अगाडी नराम्रोसंग विरामी भइ । मैले उनलाई अस्पताल लगें र उपचार गरें । उनको ज्वरो घटेन । औषधी सकिइसक्यो तर बिमार कम भएन । छोरीलाई के भएको हो ? पत्ता लाउन नसक्दा मलाई समेत तनाव भइसकेको थियो । जतिबेला पनि पेट पोल्ने, खान मन नलाग्ने हुन थाल्यो । श्रीमान पोखरामा हुनुहुन्थ्यो, उहाँलाई फोन गरेर सवै कुरा भनें । श्रीमानले नआत्तिनु ठिक होला भन्नुभयो । यसैवीच बैशाखमा भुकम्प गयो । भुकम्प पछि त झन् बस्ने बास पनि हरायो । एकातिर बिरामी छोरी अर्कोतिर बारिको पाटाको बास । कति दिन सम्म म आफै बेहोस जस्ती भएँ । जसोतसो बस्ने छाप्रो त बनाइयो तर छोरीको आनिबानि बदलिएको थिएन । अब छोरी राती सपनामा पनि चिच्याउन थाल्ने भएकी थिइ । हरेक रात म उनलाई काखमा लिएर नसुतिकन रात बिलाउन थालें । राती सुत्ने वित्तिकै छोरी चिच्याउन थाल्थिन् ममि मलाई लग्यो, ममि मलाई मा¥यो भन्थिन् । अब छोरी बाँच्दिन की भन्नेमा मेरो मन गइसकेको थियो । मेरो हंसले ठाउँ छोडिसकेको थियो । कति दुःख, आपत सहेर हुर्काएकी छोरी आफ्नै काखमा हरेक दिन कमजोर र जिर्ण बन्दै गएकी थिइ ।
छोरीको विषयमा गाउँका मान्छेहरुसंग कुरा गर्थें । उनीहरु कसैले भूकम्पले डराएर होला भन्थें । कसैले बोक्सी लागेर होला भन्थे । कसैले बाटोमा समान या पिचाश लागेको होला भन्थें । म दिनरात रुन्थें । दिनभर आफु जता जान्छु उतै लान्थें । रातभर काखमा लिएर बस्थें । ज्वरो विस्तारै कम भएपछि फेरी स्कूल जान थाली । अब त ठिक हुन्छ की ? भन्ने मनमा आशा पलाएको थियो तर आनिबानि र व्यवहार बदलिएन । स्कुलबाट सरहरुले पनि नानीमा आएको परिर्वतनका बारेमा सोध्न थाले । कक्षा कोठामा पनि टोलाएर बस्ने, एक्लै बस्ने, कसैसंग कुरा नगर्ने, होमवर्क नगर्ने, कक्षामा पढाएको कुरा विर्सने भइसकेकी रहिछ । कहिले त बसेको बेन्चमा त्यतिकै ढल्दी रहिछ । सरहरुले पटक पटक म संग कुरा गरे । पोखरामा बस्ने बुबा चै लाई पनि फोन गरेर तपाईको छोरीलाई के भएको छ ? राम्रोसंग काठमाडौं लगेर उपचार गराउनु भनेछन् ।
म हरेक दिन छोरीलाई कसरी यस्तो भयो भन्दै भौतारिन्थें । छोरीसंग सोध्थें । तर उनी बोल्दै बोल्दैनथिइन् । छोरालाई दिदीलाई के भयो भनेर सोध्न लाउथें । तैपनी कही बाट पत्ता पाउन सकिन । मेरो दिमागमा कहिल्यै पनि यस्तो नराम्रो घटना भएको पो हो की ? भन्ने आएन । मेरो मनले अनेक सोच्थ्यो । मनमा अनेक कुरा खेल्थ्यो तर यस्तो जघन्य अपराध हुन सक्यो की ? भन्ने आएन । स्कूलमा सरहरुले पनि पत्ता लगाउन सकेनन ,मैले त कसरी सक्नु । मेरी छोरीलाई हरेक दिन गाउँकै एक जना पापीले लुछ्दो रहेछ ।
जे नहुनु थियो त्यही भयो । फूल जस्ती मेरी छोरीको शरिर त्यो पापीले पाँच महिना देखि लगातार लुछेको रहेछ । ११ वर्षकी नाबालक छोरीको ज्यानमा त्यो अपराधिले कुल्चदो रहेछ । बाहिर कसैलाई भनिस् भने मारिदिन्छु भन्दो रहेछ । भाईलाई भनेमा भाइलाई पनि मार्ने धम्कि दिदो रहेछ । दिदीभाई संगै भेट्यो भने भाईलाई पैसा दिएर भगाउँदो रहेछ । गोठालो जाँदा, घाँस काट्न जाँदा, स्कूल जाँदा कहीं पनि मेरी छोरीलाई छोड्दो रहेनछ । हरेक दिन पिछा गर्दौ रहेछ । छोरीले नमानेमा मुख थुन्ने, हात खुट्टा बाँध्ने गर्दौ रहेछ । गोठालो जाँदा नमानेमा लौरोले बाख्रा लखेट्े झै लखेट्दो रहेछ, छोरी दौडिएर थाकेपछि चिर्थोदोरहेछ । म भन्न पनि सक्दिन । मेरी छोरीले कसरी सहन सकी होला ? मेरी निर्दोष छोरीलाई पाँच महिनासम्म लगातार त्यो पापीले लुछिरहयो र कुल्चिरहयो । जुन दिन यो कुरा थाहा पाएँ त्यस दिन आकाश खसेजस्तो लाग्यो । पृथ्वी भासिए जस्तो भयो । संसार अन्धकार देखें मैले । कुरा सुन्दा त मलाई यति गा¥हो भयो भने मेरी छोरीले कसरी भोगिन् होला ? मैले आफुले आफैलाई धिक्कारें । मेरी छोरीमाथी भएको अन्यायको बारेमा बेलैमा थाहा पाउन सकिन । मेरी छोरीलाई दुखेको कारण पत्ता लगाउन सकिन । म कस्ती आमा रहेछु, भन्ने लाग्यो । जिएर पनि हरेक दिन मेरी छोरीले मरेतुल्य जीवन बाँच्न बाध्य हुनुप¥यो । मेरी निर्दोष छोरीको जिन्दगीमा कालो पोतियो । फूल जस्तै फक्रदै गरेकी मेरी छोरीको हाँसो खोसियो ।
धादिङ जिल्लामा पछिल्लो समयामा यि र यस्तै बालिकाहरुमाथीको यौन हिंसाको घटना बढिरहेको छ । चार वर्षको उमेरदेखि आफ्नै परिवारको सदस्य, आफन्त, छिमेकी, चिनेको या नचिनेको मान्छे मार्फत यस्तै घटनाको शिकार हुनुपरेको छ । हिंसाको घटना त हुन्छ नै त्यसबाट प्रभावित बालिकाहरुको मनोभावलाई बेलैमा पहिचान गर्न नसक्नु चै दुःखको कुरा हो । यो घटनामा मैले उठाउन खोजेको कुरा के हो भने हामी आफ्ना बालबालिकालाई कसरी बुझ्छौं र चिन्छौं भन्ने हो । हामी अभिभावक, शिक्षक, बुद्धिजीविले हाम्रा छोराछोरी माथी हुने समस्यालाई कसरी बुझिरहेका हुन्छौं भन्ने हो । आफ्नो घरको मात्र होइन हाम्रो छिमेकका, गाउँका नै बालबालिकाको मनोभावलाई र संवेगलाई कसरी पहिचान गर्छौ भन्ने कुरा प्रमुख हो । हामी नानीहरुलाई विद्यालय पठाउँछौं । केवल किताबी ज्ञान हासिल गर्नका लागी मात्र होइन । उनीहरुले त्यहाँ साथीहरुसंग र शिक्षकहरुसंग रहदा जिवन जिउने अरु कला र ज्ञान पनि सिकुन भनेर हो ।
बालबालिकाहरु घरमा भन्दा धेरै समय विद्यालयमा विताउँछन् । बालबालिकाहरुको लागी विद्यालय घर भन्दा पनि प्यारो,न्यानो र सुरक्षित स्थान हो । त्यसैले बालबालिकामाथी हुने समस्या, हैरानी, बेचैनी र तनाव विद्यालयले पनि पहिचान गर्न सक्नुपर्ने हो । तर यि बहिनीको हकमा विद्यालयले उनी टोलाउँदा, होमवर्क नगर्दा, कसैसंग नबोल्दा, जहाँ बस्यो त्यही ढल्दा पनि उनीमाथी के समस्या भएको हो ? पहिचान गर्न सकेन । यो दुःखको कुरा हो ।
पढाउने भनेपछि प्राय हाम्रो चलन किताब घोकाउने तिर मात्र ध्यान हुन्छ । नकी ति बालबालिका कुन अवस्था र हालतमा छन् भन्ने तिर चासो र ध्यान पुग्दैन । यो घटनामा पनि यस्तै भएको हो । यदी बेलैमा उनीमाथी भएको अन्याय र हिंसाको कुरा थाहा पाउन सकेको भए उनको हालत यति धेरै विग्रने थिएन होला । कानुनी लडाई लड्ने र न्यायिक उपचार लिने कुरा एक ठाउँमा छ नै अर्कोतिर हामी बालमनोविज्ञानलाई कसरी बुझ्छौं ? भन्ने महत्वपूर्ण कुरा हो । अर्को महत्वपूर्ण कुरा विद्यालयमा यौनजन्य हिंसा र र्दुव्यवहारका बारेमा पनि सचेतना फैलाउन जरुरी छ । हरेक विद्यालयमा हप्ताको एक दिन एउटा कक्षा यसै विषयमा लिन जरुरी छ भन्ने लाग्छ । पछिल्लो समयमा विद्यालय जाने उमेरका बालीकाहरुमाथी हुने यौन हिंसाको घटनाले पनि यो विषयको आवश्यकता महशुस गराएको छ । तब मात्र यि बहिनीले झै अरु बहिनीहरुले हिंसा भोग्नु पर्ने छैन । अरु बहिनीहरुको मुस्कान खोसिने छैन ।