Sun. Oct 13th, 2024

उपत्यकामा हैजाको प्रकोप

haija

३२ साउन, काठमाडौँ – उपत्यकामा यस वर्ष पनि हैजा देखिएको छ । हैजाका केस देखिए पनि नियन्त्रणबाहिर नगएको चिकित्सकहरूले जनाएका छन् । हरेक वर्ष गर्मी र बर्खामा उपत्यकामा हैजा देखिने गरेको छ । पछिल्लो एक महिनायता सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला लागेर आएकामध्ये ३८ जना र पाटन अस्पतालमा आएकामध्ये तीनजनामा हैजाको जीवाणु फेला परेको छ । जबष्वब

शुक्रराज अस्पतालमा दैनिक औसत ३० जना झाडापखालाका बिरामी आइरहेका छन् । अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले गर्मी र बर्खासँगै उपत्यकामा झाडापखालाका बिरामीको संख्या बढी भएको भन्दै तीमध्ये केहीमा हैजाको जीवाणु देखिएको बताए । हैजा भिभिरो कलेरा भनिने जीवाणु संक्रमित व्यक्तिको दिसाबाट जमिनमा आउने र पानी वा खानेकुराका माध्यमबाट अर्को स्वस्थ व्यक्तिमा प्रवेश गरी रोग फैलाउने काम गर्छ ।

सो जीवाणु शरीरमा प्रवेश गरेपछि एक्कासि बान्ता र पखाला लाग्न थाल्छ । ‘हैजा एकदमै कडा रोग हो । यसले पेट दुखाउँदैन, तर एक्कासि झाडाबान्ता हुन थाल्छ,’ डा। पुनले नयाँ पत्रिकासँग भने, ‘समयमै उपचार नगरे कसैकसैको केही घन्टामै ज्यान पनि जान सक्छ ।’ शुक्रराज अस्पतालमा अहिले बल्खु, कुलेश्वर, कालिमाटी, भोटेबहाल, धोबीघाट, टेकुलगायतका स्थानबाट ल्याइएका बिरामीमा हैजाको जीवाणु देखिएको अस्पतालले जनाएको छ । कालिमाटी, कुलेश्वरलगायतका क्षेत्रमा अघिल्ला वर्षहरूमा पनि हैजा देखिएको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्ला केही दिनयता उपत्यकाका केही स्थानमा हैजाको केस देखिए पनि नियन्त्रणबाहिर नगएको जनाएको छ । महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले शुक्रराज र पाटन अस्पतालमा उपचारका लागि गएका झाडापखालाका बिरामीमध्ये केहीमा हैजाको जीवाणु देखिए पनि उपचारपछि सबै खतरामुक्त रहेको बताए । ‘शुक्रराजमा दैनिक ४० जनासम्म झाडापखालाका बिरामी आएका थिए । त्यसमध्ये केहीमा हैजाको जीवाणु भेटियो । यद्यपि, समयमै उपचार भएका कारण कसैको ज्यान गएको छैन ।’ गत वर्ष रौतहटको गैँडाटारमा हैजाको प्रकोपले केहीको ज्यान लिएपछि विभागका महानिर्देशक डा। सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा हैजा नियन्त्रण समिति गठन भएको थियो ।

सो समितिले हैजा देखिनुका कारण तथा नियन्त्रणबारे अध्ययन–अनुसन्धान तथा सुझाब दिने गरेको छ । डा। मरासिनीले हरेक वर्ष हैजा देखिनुको मुख्य कारण अशुद्ध खानेपानी नै हो । डा। मरासिनीले उपत्यकामा ट्यांकर र इनारको पानी खानेलाई हैजा देखिएको बताए । ‘भूकम्पले जमिन हल्लाउँदा पानी अशुद्ध हुनु स्वाभाविक नै हो । यसले इनार र पानीका मूलमै समस्या पारेको छ,’ नयाँ पत्रिकासँग मरासिनीले भने, ‘त्यसकारण पानी फिल्टर गरेर, उमालेर, क्लोरिन हालेर शुद्ध बनाई पिउने गर्नु र खाना खानुअघि साबुनपानीले धुने गरौँ ।’ नयाँपत्रिकाबाट

About The Author

अन्य समाचारहरु: