तनहुँ- सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।
असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए । ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ’, रावतले भने, ‘पर्यटकीय याममा दुईरतीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ ।’
पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए ।