काठमाडौं -नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले बुधबार आयोजित पत्रकार सम्मेलनमा गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।
यो प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।