२ भदौ, काठमाडौँ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थ मन्त्रीस्तरीय सातौँ बैठकको तयारी बैठक सुरु भएको छ ।
अर्थसचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा काठमाडौँको होटल सोल्टीमा अर्थ सचिवस्तरको तयारी बैठक सुरु भएको हो । आजको बैठकमा भोलि बिहिबार हुने हुने मन्त्रीस्तरीय बैठकमा पेस गरिने प्रतिवेदन तयार गरिने अर्थ मन्त्रालयका उपसचिव लालबहादुर खत्रीले राससलाई जानकारी दिए । उनका अनुसार बैठकमा दक्षिण एसियाको सदस्य राष्ट्रको आर्थिक तथा वित्त सहायता, सन् २०१३ को अगस्टमा श्रीलङ्काको कोलम्बोमा भएको छैटौँ बैठकको निर्णय कार्यान्वयनको स्थिति र अन्तरसरकारी विज्ञ समूहको साताँ बैठकको निर्णयका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, दोहोरो कर मुक्तिसम्बन्धी सक्षम निकायहरुबीच भएको प्रगति, भन्सार सहयोग, सार्क विकास बैंक स्थापना, सार्क विकास कोषको प्रभावकारी उपयोग, दक्षिण एसियामा वित्तीय प्रवाह र अन्तरक्षेत्रीय सदस्य राष्ट्रबीच लगानी प्रवद्र्धनका विषयमा छलफल हुनेछ । बैठकमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्सबाट सचिवले भाग लिनुभएको छ भने भारतबाट सहसचिवले भाग लिएका छन् । रासस