Sat. Oct 12th, 2024

सातौ राष्ट्रिय खेलकुद प्रतियोगीता मंसिरमा, ३५ खेल समावेश

Nepal-sports-1024x736

धादिङ – सातौ राष्ट्रिय खेलकुद प्रतियोगीता आगामी मंसिर ११ देखि १८ गतेसम्म हुने भएको छ । पूर्वाञ्चलमा हुने प्रतियोगितामा ३५ खेल समावेश गरिने भएको छ ।

अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललार्इ सातौमा समावेश गरिएको छ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।
सातदोवाटोमा पत्रकार सम्मेलन गरी राखेप सदस्य सचिव केशव कुमार बिष्टले प्रतियोगिताको लागतमा केहि बृद्धि भएको समेत जनाए ।

उनले सुरुमा २३ करोडको लागतको अनुमान गरिएकोमा खेल संख्या बढेको र अन्य कारणले लागतमा बृद्धि हुन गई २८ करोड पुगेको बताए । सदस्य सचिव बिष्टले थप ५ करोड अर्थ मन्त्रालय संग माग गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराए । सोही बैठकले प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा ५०७ सदस्यिय मुल समारोह समिति गठन गर्ने र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको संयोजकत्वमा २१ सदस्यिय कार्यकारी समिति गठन गर्ने समेत निर्णय गरेकोछ ।

त्यस्तै कार्यकारी समिति अन्तरगत परिषद्का बोर्ड सदस्यहरुको संयोजकत्वमा विभिन्न १२ उप–समिति बनाईने भएकोछ । प्रतियोगिताको उद्घाटन विराटनगरको शहिद रङ्गशालामा गरिने र समापन धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुने भएकोछ । उद्घाटानका प्रमुख अतिथी गणतान्त्रीक नेपालका सम्माननिय राष्ट्रपती र समापन सम्माननिय प्रधान मन्त्रीबाट गरिने सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगिताको तयारीको क्रममा जिल्ला प्रतियोगिता अशोज १७ देखि २४ गते सम्म र कार्तिक ११ देखि २३ गते सम्म क्षेत्रीय प्रतियोगिता गरिने भएकोछ ।

त्यसको लागि भदौ १५ देखि प्रशिक्षकहरुलाई जिल्ला खटाईने समेत जानकारी गराईयो । राष्ट्रिय प्रतियोगिताको लागि मंसिर २ देखि ९ गते सम्म खेलाडीहरुलाई बिशेष बन्द प्रशिक्षणमा राखिनेछ । तेक्वान्दो खेलको हकमा डब्लुटिएफ र तेक्वान्दो युनियनका खेल दुवै एकै प्रकृतीका खेल भएकाले दुवै खेलका खेलाडीहरुलाई समावेश गर्दै एकै प्रतियोगिता आयोजना गरिने सदस्य सचिव बिष्टले जानकारी गराए । सातौ राष्ट्रिय प्रतियोगिताको अधिकांश खेल सुनसरीमा र मोरङ्गमा हुने भएको छ । सुनसरीमा १५, मोरङ्गमा १३, झपामा ५, सिराहामा १, सप्तरीमा १ र ईलाममा १ खेल आयोजना हुने भएकोछ ।

About The Author

अन्य समाचारहरु: