Wed. Nov 13th, 2024

अब बालुवाको ढिस्कोमा लगानी गर्नु हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

धादिङ- खेतीयोग्य जमिन र सार्वजनिक जमिन मासेर बालुवाको ढिस्कोमा हुने गरेको लगानी बन्द गर्नुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् ।

धादिङ्ग उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं धादिङ्ग महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बालुवा गिट्टी निकासी गर्ने नाममा व्यवसायीहरुलाई लगानी गर्न लगाएर युवा पुस्तालाई अल्झाउन नहुने जम्बट्टेलले बताए ।

‘हाम्रा दाजुभाई दिदिबहिनीहरुलाई बालुवाको ढिस्कोतिर लगानी गर्न लगाउनु हुँदैन, हामीले कृषि पेशामा लगानी गर्न लगाउनुपर्छ’, उनले भने –‘उद्योग बाणिज्य संघ अब चाउचाउ विस्कुट र कोकाकोला मात्रै बेच्ने होइन, सिंगो धादिङ्गमा कृषि क्षेत्रको उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्छ ।’
मुख्यमन्त्री जम्कट्टेलले स्थानीय युवालाई रोजगार सिर्जना गर्दै व्यवसायीहरुलाई कृषि व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री जम्कट्टेलले कृषि उत्पादनलाई बागमती प्रदेशले देश कै आधुनिक मोडलमा लैजान लागेको बताए । बागमती प्रदेश सरकारले ८५ वटा पालिकालाई कृषिमा पकेट क्षेत्र बनाएर पाँच लाख किसानलाई जोड्ने र सबै किसान त्यसको सदस्य हुने गरी नेपालकै नमुना मोडलको बागमती प्रदेशले अभ्यास गर्न लागेको उनको भनाई छ ।

धादिङ जिल्लालाई कृषि र पर्यटन सँग जोड्ने योजना उद्योग वाणिज्य संघले बनाउनुपर्ने र लगानी गर्ने व्यवसायीहरुलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

धादिङ उद्योग वाणिज्य संघले धादिङ्गको गजुरी गाउँपालिका वडा नं. ५ गलौदीमा आयोजना गरेको नवौं धादिङ्ग महोत्सव माघ २१ गतेसम्म चल्नेछ ।

About The Author

अन्य समाचारहरु: