काठमाण्डौ – चार दिनअघि मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवाबारे अनुसन्धान भैरहेको विज्ञहरुले बताएका छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख एवम् हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीले भाले हिउँचितुवाको आमासँग छुट्टिएर वा बाटो भुलेर आइपुगेको हुनसक्ने बताउनुुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषले हिजो चिडियाखानामा गरेको पत्रकार सम्मेलनमा उहाँले हिउँचितुवाले एक रातमा ५०र६० किलोमिटर हिँड्न सक्ने भएकाले हिँडेर मोरङ पुुगेको हुनसक्ने क्षेत्रीको अनुमान छ । कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै मधेस झरेको, बाटो बिराएको, कसैले हुर्काएर छाडेको वा तस्करी गरेर कतै लैजान लाग्दा छुटेको हुनसक्ने आशंका पनि गरिएको छ ।
विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताउनुभयो । हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था सामान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
गएको मंगलवार उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई अहिले उद्धार गरी सदर चिडियाखानामा राखिएको छ । नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ ।
नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवम् प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो । विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ ।