Thu. Apr 18th, 2024

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली सकुशल

काठमाडौं – दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । ‘सो आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको थियो । तर दुःखका साथ भन्नु परेको छ आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकको मृत्यु भयो,’ संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले आक्रमणको निन्दा पनि गरेको छ ।

तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन । तर भूमि विवाद नै कारण हुन सक्ने अनुमान छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: