Tue. Jan 14th, 2025

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी श्रीमतीलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ ।

खानले १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । निर्णय अनुसार दुवैलाई करिब २३ करोड ३७ लाखको जरिवाना समेत लगाइएको छ । यसअघि हिजो अर्थात मंगलबार रावलपिण्डीको विशेष अदालतले गोप्य चिठी चोरीको मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् । सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । यसैबिच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

गत महिना मात्रै पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले इमरान खान र बुशरा बीबीविरुद्ध तोशाखानासँग सम्बन्धित मुद्दा दर्ता गरेको थियो । जसमा उनीहरु दुबैले साउदी युवराजबाट उपहार स्वरुप पाएको हार बेचेको आरोप लगाइएको थियो । यो सुनुवाई गर्दै उत्तरदायित्व अदालतले बुधबार सजाय सुनाएको हो ।

इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन् । इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो । इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो ।

About The Author

अन्य समाचारहरु: