काठमाण्डौ – भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस हिसाबले भ्यालेन्टाइन डेको बेलामा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ ।
एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनको भनाइ छ । उपाध्यक्ष पन्तका अनुसार कुल मागको ६० प्रतिशत काठमाण्डौ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने गरेको छ ।