काठमाण्डौ – नेपालबाट बंगलादेशमा निर्यात हुने विद्युत् खरिद बिक्री र शुल्कको विषयमा आज सम्झौताको तयारी भएको छ । सम्झौताको लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली हिजै बंगलादेश गइसकेको छ । आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफलपछि विद्युत् खरिद–बिक्रीदर तय हुनेछ ।
बंगलादेशले गएको माघमा ४० मेगावाट विद्युत् नेपालसँग किन्नका लागि प्रस्ताव माग गरेको थियो । प्रस्तावमा पठाएका विषय आज टुंगो लाग्ने छ । आउँदो बर्खादेखि नै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी अनुसार नेपाल र बंगलादेशले सम्झौता गर्न लागेका प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा त्रिशुली जलविद्युत् र तल्लो मोदीबाट उत्पादित बिजुली बंगलादेशमा पठाउने तयारी छ । भारतले आफ्नो क्षेत्र र प्रसारणलाइन हुँदै बंगलादेशमा बिजुली निर्यात गर्न सहमति दिएको छ ।