शंकर श्रेष्ठ
धादिङ – धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।
कपिलवस्तुको भैरहवाबाट काठमाडौतर्फ आउदै गरेको यात्रु बस पृथ्वीराजमार्गको घाटबेसी भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा ३९ जना घाइते छन् । १० जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उद्दार गरि स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौतर्फ पठाइएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरि ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । उद्दार जारी छ । नदीमा डुबेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्दारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने बर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।