Sun. Feb 9th, 2025

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ ।

कपिलबस्तुको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार एकाविहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ र काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० का ५५ वर्षिय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, राम किशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

बुधबार बिहानै दुर्घटना भएपनि दिनभरी पहिचान खुल्न सकेको थिएन । आफन्त र परिवारसँग सम्पर्क गरी मृतकहरुको यकिन गरिएको जैसवारले बताए । प्रहरीका अनुसार नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी छ । दुर्घटनामा परि ३९ जना घाइते छन् ।  

सेफ्टी बिनानै धेरैलाई पानीबाट उद्धार गर्‍यौंः प्रहरी निरीक्षक श्रेष्ठ
‘विहान करिब साढे चार बजे फोन बज्यो । एकजना स्थानीयले त्रिशुलीमा बस खसेको खबर सुनायो । त्यसको पाँच मिनेट जतिमै घटनास्थल पुग्यौं । घटनास्थलमा निकै कोलाहल, बच्चाहरु पनि रोएको सुनिन्थ्यो । बचाउनुस् बचाउनुस् भनेर घाइतेहरु चिच्याइरहेका थिए’,  पहिलो पटक घटनास्थल पुग्नुभएका जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठ भन्छन्–‘धेरैलाई हाम्रा प्रहरीले बिना सेफ्टी नै नदीमा डुबेर घाइतेको उद्धार गरे । अध्यारोमै पनि खाली ज्यान नदीमा हामफालेर धेरैको ज्यान बचायौं ।’

‘घाइतेहरु कोही पानीमा पौडिदै अतालिदै थिए । नदीमा आधा भाग डुबेको बसभित्रैबाट रुवाबासी गरिरहेका थिए । हामीसँग भएको एउटै डोरीको भरमा धेरैको ज्यान बचायौं । प्रयाप्त उपकरण भएको भए अझ छिटो उद्धार हुनेथियो,’ श्रेष्ठले उद्धार सामाग्री नहँदाको पीडा सुनाए ।

About The Author

अन्य समाचारहरु: