Fri. Jan 17th, 2025

रुसी सेनामा दर्जनौं भारतीय पनि भर्ति , दुईको मृत्यु

युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट भारतीयहरु पनि भिडिरहेको अमेरिकी टेलिभिजन सिबिएसले जनाएको छ ।

सिबिएसले दर्जनौं भारतीय रुसी सेनामा भर्ति भएको र यसबीच दुई जनाको मृत्यु भएको समाचार प्रशारण गरेपछि भारतीय विदेश मन्त्रालयले केही प्रष्ट पार्न खोजेको छ ।

विदेश मन्त्रालयका अधिकारीहरुले यसबारे रुससँग कुरा भइरहेको र रुसी सेनामा भारतीयलाई भर्ना नगराउन आग्रह गरिएको जानकारी दिएका छन् । संघीय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरोले भारतबाट मानव तस्करी गरेर रुस पुर्याइएको र सेनामा भर्ना गराइएको तथ्य फेला पारेको विदेश मन्त्रालयले बताएको छ ।

सञ्चार माध्यमहरुका अनुसार कम्तीमा तीन दर्जन भारतीय रुसी सेनामा भर्ना भएका छन् । उनीहरुलाई पहिले डेलिभरी ब्वाई र हेल्परको रुपमा लगिएको पाइएको छ । तर, सोही उद्देश्यमा मस्को पुगेका भारतीयहरुले रुस सरकारले आफूहरुलाई स्थायी बसोबासको ग्यारेन्टी गरेको बताएका छन् ।

सिबिएसका अनुसार ३० वर्षे मोहम्मद आस्फान युद्धको अग्र मोर्चामा छँदा गत महिना मारिएका हुन् । दुई बालबालिकाका पिता सन् २०२३ को अन्ततिर त्यहाँ पुगेका थिए ।

मस्कोस्थित भारतीय दूतावासले पनि मोहम्मदको निधनको पुष्टि गरेको छ । अधिकारीहरुले उनको शव भारत लैजाने तयारी भइरहेको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: