काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन् । सत्ता समीकरण फेरिएपछि कांग्रेस नेताहरुले ‘धोकेबाज’ र ‘राजनीतिक बेइमान’ भनेकोमा उनको चित्त दुखाइ छ ।
प्रतिनिधि सभा बैठकमा बुधबार विश्वासको मत लिने प्रस्ताव राख्न रोष्टममा पुगेका प्रधानमन्त्री प्रचण्डले सुरुमै कांग्रेसले नै ‘विश्वासघात’ गरेको आरोप लगाएका थिए ।
तेस्रो पटक विश्वासको मत मागेका उनले पहिलो पटक कसरी प्रधानमन्त्री भएको भनेर सम्झिए । ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन मद्दत गर्यो । त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम पहिलोचोटी म नेकपा एमाले लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ,’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।
कांग्रेस, माओवादीसहितका दलले गठबन्धन गरेर ४ मंसिर २०७९ को चुनाव लडेका थिए । आलोपालो सरकारको नेतत्व गर्न सहमत कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुटेन । त्यसपछि प्रचण्ड १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बने । २६ पुस २०७९ मा कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्रीले २६८ मत पाएका थिए भने विपक्षमा दुई मत मात्र परेको थियो ।
तर प्रचण्डले दुई महिनामै गठबन्धन फेरे । फागुन दोस्रो साता पूर्वसहमति विपरीत राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्दै प्रचण्ड कांग्रेसकै गठबन्धनमा फर्किए । जनतामा एकचोटी स्थापित भएको मान्यता अनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले फेरि कांग्रेससँग सहकार्य गरेको उनले बताए । ६ चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिँदा १७२ र विपक्षमा ८९ मत खसेको थियो ।