काठमाडौं – गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामाको हत्या गरी गाडेको अवस्थामा फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको थियो ।
सुस्माको हत्याको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो । प्रहरीले उनलाई आतबार सार्वजनिक गरेको हो ।
शव फेला पर्नेसाथ हत्या हो भन्ने प्रमाणहरू फेला परेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जनकारी दिए । उनले भने, ‘शव उत्खनन गर्दा दुई हात बेल्टले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा भेटिएको थियो, क्राइम सिन र शवको अवस्था देख्नेबित्तिकै हत्या हो भन्ने प्रमाणहरू फेला परेकाले हामीले गहन अनुसन्धान सुरु गरेका थियौं ।’
अनुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ । सुस्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरू बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे ।
पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुस्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । तर सुस्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन् । ‘सुस्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न भनेर योजना बनाएर हत्या गरेको देखियो’, अनुसन्धानको नेतृत्व गरेका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले भने ।
रुपेन्द्रले सात दिनसम्म सुस्माको गतिविधिको अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ । सुस्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको बयान रुपेन्द्रले प्रहरीसमक्ष दिएका छन् ।
हत्यापछि बाटोबाट करिब ५० मिटर जति तल लगेर रुपेन्द्रले शव गाडेका थिए । यो काम उनी एक्लैले गरेको देखिएको प्रहरीको भनाइ छ । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ ।