
काठमाडौं – पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ ।
विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो ।
गत फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासकै कोठामा १४ वर्षीया शालीन पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दिएका थिए । तर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको स्वास्थ्य परीक्षणमा बालिकामाथि बलात्कार नभएको पुष्टि भइसकेको छ ।