काठमाडौं – युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन आग्रह गरेको छ ।
युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको थियो ।
युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो ।
युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न अझै कडा कदम चाल्न आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।”
गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो ।