काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन्।
आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताए ।
पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ ।
यसैबीच नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न आयोग बनाउन माग गरेका छन् ।