धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीमा मंगलबार विहान जंगली चितुवाको आक्रमणबाट चार जना स्थानीयबासी घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट विद्यालय जाँदै गर्नुभएकी शिक्षिका नीलकण्ठ नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया शारदा श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । गाउँमा चितुवा आएर मानिस आक्रमण गरेको खबर पाएपछि घाइते श्रेष्ठलाई बचाउन जाने क्रममा चतुवाले आक्रमण गर्दा नीलकण्ठ नगरपालिका–७ तल्लोबेसीका ४५ वर्षीया बिमला कोइराला, ८० वर्षीय नन्द प्रसाद अधिकारी र ३७ वर्षीय विष्णुपुकार श्रेष्ठ पनि घाइते हुनुभएको छ ।
जंगलमा डँढेलो सुरु भएपछि गाउँ पसेको हो । चितुवाले आक्रमण गरेपछि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । शारदा र विमलाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
मानिसहरु आक्रमण गर्न थालेपछि चितुवा धपाउने क्रममा ढुंगाले लागेर चितुवा समेत मरेको छ । मरेको चितुवा डिभिजन बन कार्यालयमा लगिएको छ ।