हेटौंडा – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पुनः मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएसँगै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको बताइएको छ । उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ ।
एमालेका थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।
बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।
सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि अल्पमतमा परेका मुख्यमन्त्रीले सरकार जोगाउन समर्थन समेत जुटाइसकेका छन् । एमालेसहित चार दलको समर्थन जुटाएका मुख्यमन्त्री जम्कट्टेलले यसै साता विश्वासको मत लिँदैछन् ।