Sun. Feb 9th, 2025

धादिङ जिल्ला अदालतभित्रको गम्भीर घटना नै गुपचुप !

शंकर श्रेष्ठ,
धादिङ–धादिङ जिल्ला अदालतका जिल्ला न्यायधीसका दुई चालकको तीन दिन अघि रातारात जागिर गयो । अदालत परिसरमा सुरक्षार्थ खटिएका प्रहरी टोली सबैको एकाएक ड्युटी फेरियो । मंगलबार विहानदेखि जिल्ला अदालतभित्रका वकिल, कर्मचारी सबैमा खासखुस कानेखुसी मात्रै चलिरहेको छ । तर, घटना बाहिर ल्याउने आँट कसैको छैन ।

घटना २०८० चैत १६ गते शुक्रबार रातीको हो । धादिङ जिल्ला अदालतका न्यायधीस गोपाल प्रसाद बास्तोला र गीता श्रेष्ठका चालक शिव नन्दन मण्डल र सुजन खड्का मदिराले लठ्ठ भएर अदालत परिसरमा प्रवेश गरे । उनीहरुसँग अदालत परिसरकै सुरक्षार्थ खटिएका एक जना प्रहरी पनि थिए । जिल्ला न्यायधीस बास्तोलाका चालक शिव हुने भने श्रेष्ठका चालक सुजन हुन् ।

राती करिब ९ बजेर ३० मिनेटमा अदालतभित्र प्रवेश गरेका न्यायधीसका चालक शिव र सुजनले अदालतकै लेखा शाखा फेरेका छन् । रडले झ्याल फुटाएर भित्र पसेका उनीहरुले दराजको ढोका र टेबुलको घर्रा पनि फुटाए । श्रोतका अनुसार दराज फोरेर उनीहरुले फाइलभित्र नत्थी गरिएका केही कागजपत्र नष्ट गरेका छन् । टेबुलको घर्रामा रहेको नगद रु चार सय बीस चोरी गरेका छन् ।

घटना यतिमा मात्रै सिमित छैन । मदिराले झ्याप भएका न्यायधीसका चालकदय शिव र सुजनको बदमासी अर्काे झन ठूलो छ । अदालतको भुई तल्लामा रहेको दायरी फाँटबाट उनीहरुले मुद्दाको नमुना परीक्षण गरी पठाएको दशीको रुपमा पठाएको अवैध लागु औषध गाँजा पनि चोरी गरेका छन् । दायरी फाँटबाट निकालेको तीन पोका गाँजा जिल्ला न्यायधीस श्रेष्ठका चालक सुजनको कोठाबाट बरामद भएको छ ।

घटना शुक्रबार रातीको भएपनि आइतबार कार्यालय समय सुरु नभएसम्म कसैले पत्तो पाएनन् । अदालत परिसरको सुरक्षामा खटिएका पाँच जनाको प्रहरी टोली, न्यायधीसको पिएसओ, सुरक्षा गार्ड कसैले थाहा नपाउनु र घटनाबारे अदालत र प्रहरीका अधिकारीहरु मुख नखोल्नुले घटना अझ संकास्पद बनेको छ । ?

घटना थाहा भएपछि प्रहरीले मुचुल्का उठाएको छ । दुबै जना चालकले मुचुल्कामा हस्ताक्षर पनि गरेका छन् । तर, घटनामा संलग्न न्यायधीसका चालकहरुको नाम र हर्कतबारे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसी बोल्न चाहेनन् । ‘अदालतभित्रको कुरा हो हामीलाई त्यस्तो केही जानकारी छैन । यस विषयमा बोल्न चाहन्न । मैले बोल्न मिल्दैन’ भन्दै प्रहरी उपरीक्षक केसीले आलटाले उत्तर दिएका छन् ।

अदालतका श्रेतेदार माधव भण्डारीलाई कार्यालयमै पुगेर पटक पटक घटनाबारे बुझ्न खोज्दा ‘सामान्य कुरा हो, मिलिसक्यो’ लेखिरहनु जरुरी छैन भन्दै चालकहरुको नाम दिन मानेनन् । समाचार बाहिर नल्याइदिन र अदालतको मर्यादा राखिदिन उल्टै सुझाव दिन्छन् ।

न्यायालय जस्तो सम्बेदनशील निकायका अधिकारी र कर्मचारीबाटै भएको यस्तो हर्कतले धादिङ अदालतको कार्यसम्पादनमा पनि प्रश्नचिन्ह खडा भएको छ । रक्षक निकायमै भक्षक भएजस्तो घटनाले न्यायको आशा कमजोर बनेको छ । आफ्नै रक्षा गर्न नसक्ने अदालतभित्रबाट जनताको रक्षा हुने आशा कमजोर देखिएको छ । न्यायधीस माथी नै प्रश्नचिन्ह उठ्ने भएका कारण घटना गुपचुप राख्न खोजेको अधिकारकर्मीहरुको बुझाई छ ।

About The Author

अन्य समाचारहरु: