काठमाडौं – कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त भएको छ । दैलेखको आठबीस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले आन्दोलन गरेका हुन् ।
सामान्य पेट दुखेपछि उनी बिहीबार कर्णाली प्रदेश अस्पताल भर्ना भएकी थिइन् । तर, चिकित्सकहरुले पाठेघरमा समस्या भएको र सफा गर्नुपर्ने बताएका थिए । पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै दिउँसो ३ बजेतिर अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको उनको आफन्तको दाबी छ ।
मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले हिँडेर अस्पताल गएकी भाइबुहारीको एक्कासि शव बुझ्नभन्दा पत्याउन सकिने कुरै नभएको बताए । परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ ।
यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् । भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेको छ । आफन्तहरूले घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग गरेका छन् ।प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए ।