धादिङ–धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटनाका घाइते सबैलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकोले धादिङ अस्पतालमा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्र जानकारी दिए ।
खाल्टेको पतेनी भन्ने ठाउँबाट गाईवस्तुको मल लोड गरेर बारीमा लैजादै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । पतेनीका ३१ वर्षीय हिरा रम्तेल, ११ वर्षीय बालक बिमल मजकोटी, ४० वर्षीय बिष्णु रम्तेल, १७ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, २१ वर्षीय प्रितम रम्तेल र ११ वर्षीय कृष्ण रम्तेल घाइते छन् ।
दुर्घटनामा पतेनीका अन्दाजी ११ वर्षीय सन्तोष रम्तेलको घटना स्थलमै मृत्यु भएको थियो भने उनका बुबा ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुने मध्ये पाँच जना बालबालिका छन् । स्कुल बिदा भएकोले बच्चाहरु पनि अभिभावकसंगै हिडेकोले दुर्घटनामा बालबालिका परेका हुन् । उपचारको क्रममा मृत्यु भएका राम बहादुरका श्रीमती र दुई छोरा पनि घाइते छन् ।
घटना स्थल सदरमुकाम धादिङबेशी बाट १३ किलोमिटर टाढा पर्दछ । नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्दार गरेका थिए । ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्दारमा पुगेकाहरुको भनाई छ ।