Mon. Apr 29th, 2024

धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइते मध्ये थप एक जनाको मृत्यु

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका १२ वर्षीय प्रितम मजकोटीको के.एम.सी. अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएका छ जना घाइतेको भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिए ।

दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुबैजना स्थानयि पतेनी आधारभूत बिद्यालयका बिद्यार्थी हुन् । विद्यालय विदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।
साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँच सहित ९ जना सवार थिए । घरबाट गोठेमल लोड गरेर दाउने खोला स्थित बारीमा लैजांदै गर्दा बारीमा मल झार्ने ठाउँ नजिकै पुगेर ट्रक दुर्घटनामा परेको थियो ।

घाइते मध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: