काठमाडौं – भ्वाइस अफ नेपाल सिजन ५ का चारैजना फाइनलिस्टले पहिलो वर्ल्ड टुर बेलायतबाट थालेका छन् । बेलायती समयानुसार शनिबार बेलुका उनीहरुले एल्डरसटमा सांगीतिक प्रस्तुति दिए ।
सिजन विजेता विनोद राईसहित फाइनलिस्टहरु मकरबहादुर योञ्जन, नोगेन लिम्बू लगायतले प्रस्तुति दिएको आयोजक सुनगाभा इन्टरटेनमेन्टले जनाएको छ । फाइनलिस्टलाई सुन्न एल्डरसटको एम्पायर हल दर्शकले खचाखच रह्यो ।
सबैजना फाइनलिस्टले मञ्चमा उभिएर ‘यो मन त मेरो नेपाली हो’ गीत गाउँदा माहोल देशभक्तिपूर्ण भावनामा उर्लियो । बेलायतको नेपाली डायस्पोरा पनि यो कन्सर्टमा झुम्यो । शोको होस्ट सुशील नेपालले गरेका थिए ।
कन्सर्टमा जानुपूर्व कलाकारलाई बेलायतस्थित नेपाली समुदायले भव्य स्वागत गरेका थिए । होस्ट सुशील नेपालले अन्य मुलुकमा समेत कार्यक्रम आयोजना हुन लागेको बताएका थिए ।