काठमाण्डौ – सरकारले यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिए।
यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको उनको भनाइ छ । तर सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ ।
दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । त्यही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।