![](https://www.pabilnews.com/wp-content/uploads/2024/05/Messenger_creation_5a7497b9-3df1-4ddc-95c2-44ab747e42eb-1024x768.jpeg)
धादिङमा-धादिङमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने धादिङका वरिष्ठ जनस्वास्थ्य अधिकृत विभु कुमार झा ले बताए । आज जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसँगको अभिमुखीकरण तथा बैठकमा झाले सो कुरा बताएका हुन् । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उनको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
जिल्लामा दुई चरणमा खोप अभियान संचालन हुनेछ । पहिलो चरणमा १३ गतेदेखि १७ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी र नेत्रावति डबजोङ गाउँपालिका संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै दोस्रो चरणमा २० गतेदेखि २६ गतेसम्म नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा संचालन गरिनेछ ।
सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।