काठमाडौं – यसवर्ष धेरै क्षेत्रमा औषतभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औषतभन्दा बढी वर्षा हुने आँकलन गरेको हो ।
विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै औषतभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा औषतभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।
जेठ १९ देखि असोज १४ सम्मको मनसुनी अवधिमा औषतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी मनसुन अवधिमा पर्छ ।
विभागले यस वर्षको मनसुन अवधिमा अधिकतम तापक्रम देशका अधिकांश स्थानमा औषतभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको समेत जनाएको छ ।