Thu. Jan 16th, 2025

दोस्रो पटक म्याद थप भएपछि अस्पताल भर्ना भए कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया


नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासत रहनुभएका कान्तिपुर पब्लिकेशनका प्रमुख कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएको भन्दै सिरोहिया अस्पताल भर्ना भएका हन् ।

चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको छ । पहिले देखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको जनाएको छ ।

तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था खराव पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले बताए ।

‘मुटुको ब्लकेज समस्या आएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ, अहिले पनि ग्रान्डीमा फलोअपमा रहनुभएको बुझ्यौं’ सिंहले भन्नुभयो, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । ईसीजी हेर्दा स्थिर देखिए पनि अरु समस्या बढ्ता छ । परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घन्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा ओममूर्ति अनिललाई टेलिफोनमार्फत् ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्या हेर्दै आउनु भएको चिकित्सक हुनुहुन्छ । मंगलबार कान्तिपुरबाट गिरफ्तार हुनुभएका सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो ।

About The Author