काठमाडौं-सरकारले विद्युतीय गाडी ९ईभी० मा कर बढाएको छ । सरकारले बजेटमार्फत ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाउनु भएको हो । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन ।
५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ । यस्तै ५० किलोवाटसम्म क्षमता भएका ईभीमा ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने भएको हो । यसअघि अन्तःशुल्क लगाइएको थिएन ।
५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुईमा समान ५ प्रतिशतले बढाइएको छ । उक्त क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । सोही क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुग्दा उक्त क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ ।
बजेटमा १०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढ्दा अन्तःशुल्क भने यथावत राखिएको छ । उक्त मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा यसअघि अन्तःशुल्क नचलाए पनि अब २० प्रतिशत लाग्ने भएको छ भने तयारी भएर पैठारी हुनेको अन्तःशुल्क २० प्रतिशत नै यथावत छ । तर, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने २० बाट ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्ड र अन्य दुवैका लागि हो ।
बजेटले २०० किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढ्दा अन्तःशुल्क भने घटेको छ । उक्त मोटर क्षमता भएका ईभीमा अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा भन्सार ४० प्रतिशतबाट २० प्रतिशत बिन्दुले बढेर ६० प्रतिशत पुग्दा अन्तःशुल्क १० प्रतिशत बिन्दुले घटेको छ ।