काठमाण्डौ – आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आउँदो जेठ १९ गते शनिवारदेखि जेठ २६ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले आज खेल तालिका सार्वजनिक गरेको हो ।
उद्घाटन खेलमा पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र गण्डकी तथा आर्मी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ एपीएफ र चन्द्रागिरि तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा जेठ २२ गते तीन वटा खेल हुँदा अरू दिन दुई वटा खेल हुनेछ ।
लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिगमा पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् ।
यस्तै महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश रहेका छन् । लिगको पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।