सडक डिभिजन काठमाडौंले न्यूरोडमा भत्काइएको सडक पुनःस्थापना गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । दुई दिनको समयसीमा दिँदै डिभिजनले जुद्धशालिकदेखि इन्द्रचोक सडकखण्डसम्म भत्काइएको सडक पुनःस्थापना नगरेमा कारबाही गर्ने चेतावनी दिएको हो ।
डिभिजनले हिजो महानगरलाई पत्राचार गर्दै सो स्थानमा सडक खन्ने काम सार्वजनिक सडक ऐन,२०३१ को दफा १९ विपरीत भएको जनाएको छ । मुलुकको कानुनभन्दा ठूलो कोही नहुने स्मरण गराउँदै डिभिजनले महानगरलाई कानुनको पालना गर्न आग्रह पनि गरेको छ ।
‘मिति २०८१–०१–१२ मा बिना सहमति न्यूरोडस्थित जुद्धशालिक इन्द्रचोक सडकखण्डमा त्यहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप भएको देखिएकोले सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनःस्थापना गरिदिनुहुन भनी मिति २०८१–०२–१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनःस्थापना भएको देखिए । नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरशस् पालना गर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा त्यहाँ महानगरपालिकालाई विदितै छ । तसर्थ,त्यहाँबाट भत्काइएको सडकखण्ड २ दिनभित्र पुनःस्थापना गरिदिनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।