काठमाडौं -नेपाल धितोपत्र बोर्ड कार्यकारी अधिकार प्राप्त अध्यक्षविहीन छ । गत पुस २० गते बोर्डको अध्यक्षबाट रमेश हमाल बिदा भएसँगै अध्यक्ष नियुक्त गरिएको छैन ।
अध्यक्ष बन्न आवेदन दिएकामध्ये पाँचजनाको नाम सर्ट लिस्ट गरेको पनि दुई महिना बितेको छ । अध्यक्ष सिफारिस समितिले सर्ट लिस्टमा परेकाहरूलाई चैत २९ गते कार्ययोजना पेस गर्न बोलाएको थियो ।
कार्ययोजना पेस गर्ने अघिल्लो दिन तत्काललाई प्रक्रिया स्थगित गरिएको थियो । छनोट प्रक्रिया स्थगित भएको पनि दुई महिना हुन लागेको छ । सिफारिस समितिले अहिलेसम्म पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाएको छैन ।
कर्पोरेट हाउस र एमाले अध्यक्ष केपी शर्मा ओलीको छनोटभन्दा बाहिर रहेर अर्थमन्त्री वर्षमान पुनले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेपछि प्रक्रिया थप रोकिएको स्रोतको दाबी छ ।
कृष्णबहादुर कार्की, विमा प्राधिकरण (तत्कालीन विमा समिति) का अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र डा। नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ सर्ट लिस्टमा परेका छन् ।
यीमध्येबाट अर्थमन्त्रीले तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछन् । तर, त्यो भन्दा पहिले सर्ट लिस्टमा परेका पाँच जनाले सिफारिस समितिसमक्ष कार्ययोजना प्रस्तुत गर्नुपर्ने हुन्छ ।
छनोटमा परेका पाँचै जनाको प्रारम्भिक डकुमेन्ट सिफारिस समितिले अध्ययन सकेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार, केही दिनभित्रै उनीहरूको कार्ययोजना प्रस्तुति सुन्ने तयारी छ